• गृहपृष्ठ
  • नेपालको शिक्षा, गरिबी न्युनीकरण र ग्रामिण विकासको क्षेत्रमा स्वीस सरकारको योगदान महत्वपुर्ण : शिक्षामन्त्री श्रेष्ठ

नेपालको शिक्षा, गरिबी न्युनीकरण र ग्रामिण विकासको क्षेत्रमा स्वीस सरकारको योगदान महत्वपुर्ण : शिक्षामन्त्री श्रेष्ठ

Apr 23rd, 2021

काठमाडौ, बैशाख १०

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको शिक्षा, गरिबी न्युनीकरण र ग्रामिण विकासको क्षेत्रमा स्वीस सरकारको योगदान महत्वपुर्ण रहेको बताउनुभएको छ । विशेषगरी प्राविधिक तथा व्यवसायीक शिक्षा र तालिम, स्थानीय विकास, सुरक्षित आप्रवासन, प्राकृतिक स्रोत व्यवस्थापन, सामुदायिक वन, यातायात र कृषिका क्षेत्रमा स्वीस सहयोग केन्द्रित रहेकोमा खुसी व्यक्त गर्दै त्यसलाई निरन्तरता दिन र आपसी सहयोग अघि बढाउन नेपाल सरकार तत्पर रहेको बताउनुभएको छ ।

नेपालका लागि स्वीजरल्याण्डका राजदुत इलिजावेथ भोन क्यापलर संग भएको शिष्टाचार भेटको क्रममा मन्त्री श्रेष्ठले स्वीस सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो । सो अवसरमा मन्त्री श्रेष्ठले स्वीस सरकारको सहयोगमा मन्त्रालय अन्तरगत शिक्षा क्षेत्रमा केही महत्वपुर्ण परियोजना सम्पन्न भएका बताउदै त्यस किसिमको परियोजनालाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

उहाले भन्नुभयो–मित्रराष्ट्रको सहयोगमा जिरी र बालाजुमा प्राविधिक शिक्षालयको स्थापना,प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रशिक्षकहरुका लागि तालिम दिने संस्था टिआइटिआइको स्थापना , रोजगार कोष परियोजना, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका लागि प्राविधिक सहयोग, इन्स्योर परियोजना मार्फत एप्रेन्टिसिप कार्यक्रमको थालनी,विद्यावारिधि र उच्च विद्यावारिधि गर्न स्वीस सरकारको एक्सेलेन्स छात्रवृत्ति,राष्ट्रिय योग्ता पद्दति सवलीकरण परियोजना लगायतमा भएको सहयोग महत्वपुर्ण छ ।

भेटका क्रममा राजदुत क्यापलरल महत्वपुर्ण मन्त्रालयका मन्त्रीलाई भेट्न पाउँदा आफुलाई अत्यन्तै खुसी लागेको बताउनुभयो । भन्नुभयो–‘नेपालको महत्वपुर्ण मन्त्रालयको रुपमा रहेको शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले प्राबिधिक र ब्यावसायीक शिक्षाको गुणस्तर अभिवृद्धी गर्न मुख्य भुमिका खेलेको छ । उहाले मुलुक संघीयतामा गैसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्न प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्ने बताउनुभयो ।

भन्नुभयो–हामीले प्राबिधिक शिक्षाको विकास गर्न स्थानीय र प्रदेश सरकारको भुमिका महत्वपुर्ण ठानेका छौ । प्राबिधिक शिक्षामा भएको योगदान अझै महत्वपुर्ण देखिएको छ । स्वीस सरकारले नेपालको प्राबिधिक र अन्य क्षेत्रमा मिलेर काम गर्ने चाहना व्यक्त गदै स्वीस सरकारको सहयोगलाई निरन्तरता दिने बताउनुभयो । उहाले सबै पालिका तहमा प्राबिधिक तथा ब्यावसायीक शिक्षा अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

लगत्तै मन्त्री श्रेष्ठले सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार हरेक पालिका मा प्राबिधिक शिक्षालयलाई बिस्तार गर्ने प्रकृयालाई निरन्तरता दिएको बताउनुभयो । कोभिड महामारीको विषम परिस्थितिमा स्जीजरल्याण्ड सरकारले नेपाल सरकारलाई पचास हजार पिसिआर परीक्षणका सामग्री, पिपिइ, मास्क, थर्मोमिटर र पिसिआर मेसिन सहयोग गरेको थियो । यस विषयलाई स्मरण गर्दै आभार व्यक्त गर्न चाहान्छु भन्नुभयो ।

हामी दुबै देश उस्तै उस्तै भूपरिवेष्ठित र पहाडी भौगोलिक परिवेश भएका देश हौं । नेपाल र स्जीजरल्याण्डबीच सन् १९५६ मा कुटनीतिक सम्बन्ध स्थापना भए यता द्विपक्षीय सम्वन्ध सदा उत्कृष्ट र सुमधुर सहँदै आएको छ । यी सम्बन्धलाई बेलाबेलामा हुने उच्चस्तरीय भ्रमणहरुले अझ समृद्ध बनाउँदै आएको छ । भविश्यमा पनि जनस्तरसम्मका आयामहरु अझ नियमित र सुदृढ हुने अपेक्षा गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सोचबारे राजदुतदाई जानकारी भएकै होला , यसका निमित्त नेपालमा लगानी अभिवृद्धि गर्न हामीले स्जीजरल्याण्ड लगायत मित्र मुलुक र सरकारलाई अनुरोध गर्दै आएका छौ– उहाले भन्नुभयो । हामी शिक्षा क्षेत्रमा वैदेशिक सहयोग परिचालन गर्ने सम्बन्धमा संयुक्त लगानी कार्यढाँचा (स्वाप मोडेल) मा समेत विकास साझेदारसँग सहकार्य गर्दै आएका छौं । हाल नयाँ शिक्षा योजना विकासको क्रममा समेत छौं । आगामी दिनमा शिक्षा, विज्ञान तथा प्रविधि एवम् प्राविधिक शिक्षा र तालिमका विषयक्षेत्रमा कसरी सहयोग अभिवृद्धि गर्ने भन्ने बारेमा सरकारले जानकारी लिन चाहेको मन्त्री श्रेष्ठको भनाई थियो ।