• गृहपृष्ठ
  • महाशाखाद्धारा चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

महाशाखाद्धारा चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

Apr 15th, 2021

काठमाडौ, बैशाख २

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुने व्यक्तिलाई कारबाहीको प्रक्रियालाई तीब्ररुपमा अगाडि बढाईरहेको छ । महाशाखाले चोरी भएका १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर गरि २६ वटा मोटरसाइकल खोजतलास गरी बरामद गर्न सफल भएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरू तथा धादिङ, चितवान, मकवानपुर, बारा जिल्लाबाट चोरी भएकाउक्त मोटरसाइकलहरू खोजतलास गरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज सम्बन्धित सवारी धनीलाई जिम्मा लगाउनु भएको हो ।

कार्यक्रममा बोल्नुहुदैँ एसएसपी भट्टराईले महाशाखाले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीब्रता दिईरहेको बताए । उनले भनेः– “अधिकांश मोटरसाईकलहरू एकान्त तथा सुनसान स्थानबाट चोरी हुने गरेको पाईएको छ भने चोरी भएकामोटरसाईकलहरू नम्बर प्लेट र स्वरुप परिवर्तन गरी नक्कली कागजपत्र बनाईवेचबिखन गर्ने गरेको पाईएको छ ।”

त्यसकारण सवारी धनीले सवारी साधन चोरी हुन सक्छ भनी सावधानी नअपनाउँदा सवारी चोरी भईरहेकोले सम्बन्धित सवारी धनी एवम् चालकस्वयम् जिम्मेवार भई पार्किङ्ग गर्दा बिशेष ध्यान दिनुपर्ने र अतिरिक्त सुरक्षाका उपायहरु प्रयोग गर्नुपर्ने भट्टराईले सुझाव दिए । ट्राफिक प्रहरीले बिशेष सूचना संकलन गरि अपरेसनबाट मोटरसाइकलहरु बरामद गर्द्छन् भने चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गर्द्छनर अन्य अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको महाशाखाले जनाएको छ ।

यस आर्थिक वर्षमा मात्रै हराएका ३५७ वटा मोटरसाइकल खोजतलास गरि सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४७ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरुमार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।

चोरी भएको थाहा पाउनसाथ नजिकको प्रहरी वा ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा लस्ट भेहिकल एप्लीकेशनमा मा लगईन गरेर निवेदन दिने सकिने व्यवस्था समेत ट्राफिक महाशाखाले गरेको छ ।