• गृहपृष्ठ
  • एकताको झण्डालाई फेरि माथि उठाउनुपर्छ : अध्यक्ष दाहाल

एकताको झण्डालाई फेरि माथि उठाउनुपर्छ : अध्यक्ष दाहाल

Apr 14th, 2021

काठमाडौँ, १ वैशाख /रासस

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामथ्र्य पैदा हुने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७८ को अवसरमा अध्यक्ष दाहालले एक शुभकामना सन्देश दिनुहुँदै कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम ऐक्यबद्धताका लागि अपिल गर्नुभएको छ ।

नेपाली जनताको आकांक्षा र पार्टी नेतृत्वको दूरगामी सोचका कारण कम्युनिष्ट पार्टीहरूबीच एकता कायम भएको उल्लेख गर्दै उहाँले कम्युनिष्ट पार्टीबीचको एकतालाई प्रतिगामी प्रतिक्रियावादीले षड्यन्त्रमूलक ढङ्गले विभाजन गरेको स्मरण गर्नुभएको छ ।

देशलाई अग्रगतिमा लैजान र जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार गठन अपरिहार्य भएको स्पष्ट पार्दै अध्यष दाहालले सबै पक्षलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “अबको हाम्रो समाजवाद कस्तो हुने, यसको अर्थनीति र राजनीति कस्तो हुने र राज्य संरचना कस्तो हुने भन्ने प्रश्नको जवाफ हामीले दिनुपर्ने भएको छ । वर्ग सङ्घर्ष, उत्पादनका निम्ति सङ्घर्ष र वैज्ञानिक प्रयोगजस्ता समाज विकासका नियमलाई आत्मसात् गर्दै विचारको विकास गर्न पनि उत्तिकै आवश्यक छ ।”

अध्यक्ष दाहालले कृषि, उद्योग र अन्य व्यवसायलाई समाजवादी स्वरुप दिने भन्ने योजना र अभियान सञ्चालन गर्दै सूचना प्रविधिमा आएको विकासलाई उत्पादन र वर्ग सङ्घर्षका निम्ति व्यवहारिक प्रयोग गर्ने सोच र संस्कृति नेपाली मौलिक समाजवादको आधार बन्न सक्ने बताउनुभएको छ । नयाँ वर्षले नेपाली मौलिकतासहितको समाजवादको लक्ष्यमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै अध्यक्ष दाहालले विभिन्न समुदायमा रहेका नेपाली जनसमुदायबीच एकापसमा भाइचारा र घनिष्ठता अभिवृद्धिको शुभेच्छासहित प्रगतिको कामना गर्नुभएको छ ।