• गृहपृष्ठ
  • वर्षातको समयमा रातमा विद्युत खेर जाने देखेपछि प्राधिकरणको प्राथमिकता अब पम्पीङ स्टोरेजमा

वर्षातको समयमा रातमा विद्युत खेर जाने देखेपछि प्राधिकरणको प्राथमिकता अब पम्पीङ स्टोरेजमा

Apr 11th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत २९

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी सञ्चालनमा आएसँगै वर्षातको समयमा रातमा बिजुली खेर जाने देखिएको छ । यस्तो बिजुली भारत निर्यात गर्न सकिएन भने यहि खेर जान्छ । त्यसैले अब नेपाल विदुत प्राधिकरणले रातको समयमा पानी तान्ने खालका पम्पीङ स्टोरेजलाई प्राथमिकता दिन थालेको छ ।

विद्युत प्राधिकरणले कुलेखानीमा १ सय मेगावटा बराबरको पम्पीङ स्टोरेज बनाउन थालेको छ । जसका लागि हालैमात्रै यसले बिद्युत बिकास विभागबाट लाइसेन्स पाएको छ । यसले विद्युतको उच्च माग भएका बेलामा बिजुली उत्पादन गर्ने छ भने रातमा बिजुली खेर जाने समयमा पानी तान्नका लागि विद्युतको प्रयोग गर्नेछ ।

अहिले कुलेखानीको यो इन्द्रसरोबर ताल जहाँ ८ करोड ५३ लाख क्युबिक मिटर पानी जम्मा गर्न सकिन्छ । बिद्युतको उच्च माग भएका बेलामा प्रयोग गरिने यो सरोबरमा आधारित रहेर तीनवटा आयोजना बनाइएका छन् ।

सुरुमा धोर्सिङ तर्फको सुरुङबाट करिब १३ सय २४ मिटर तल रहेको कुलेखानी जलविद्युत आयोजन प्रथमबाट ६० मेगावाट बराबरको बिजुली उत्पादन हुन्छ ।

यो आयोजनाबाट निस्केको पानीसँगै मान्डु खोलाको पानी र राप्तीबाट पम्पीङ गरेर भैसेमा रहेको ३२ मेगावाट आयोजनाबाट बिद्युत उत्पादन गर्ने गरिएको छ । दोस्रो आयोजनाबाट निस्केको पानी फेरी ३ सय दुई मिटर पर रहेको कुलेखानी तेस्रोका लागि प्रयोग गरिन्छ ।

१४ मेगावाटको कुलेखानी तेस्रो आयोजनामा कुलेखानी दोस्रोबाट निस्केको पानीसँगै खानी खोलाको पानी पनि यसमा मिसाइन्छ । यसरी कुल १ सय ६ मेगावाट विद्युत उत्पादन गरेपछि यो पानी भने राप्ती नदिमा मिसाइन्छ, जसलाई पुन तालमा फर्काउने गरिएको छैन । तर अब भने बिद्युत प्राधिकरणले सिस्नेरी तर्फ करिब ५ सय मिटर लामो सुरुङ बनाएर कुलेखानी सिस्नेरी पम्पीङ स्टोरेज बनाउन लागेको छ ।

करिब ९ अर्ब लागतमा बन्ने यो आयोजना बिद्युतको उच्च माग भएका बेलामा चलाउने र यसबाट बिद्युत उत्पादन गरेर बाहिरिएको पानी फेरी राती बिद्युत खेर जाने बेलामा इन्द्रसरोबर तालमै फर्काउने बिद्युत प्राधिकरणको तयारी छ ।

करिब दुई वर्ष अघि शाक्य एनइए इन्जीनियरिङ कम्पनीमा रहदा यो आयोजना प्रतिफलमुलक रहेको भन्दै बिद्युत प्राधिकरणलाई यो आयोजना अघि बढाउन प्रस्ताव गरेका छन् । करिब ८ वर्ष अघि देखि यो आयोजनाको बारेमा कल्पना गरेका शाक्य अहिले आफै बिद्युत प्राधिकरणको प्रमुखको रुपमा आएका छन् । उनले यो आयोजना आफ्नै कार्यकालमा सक्ने योजना समेत बनाएका छन् । एक वर्ष अध्ययन र दुई वर्ष निर्माणका लागि लाग्ने उनको भनाई छ ।

यसमा अहिले ड्रिलिङ र फिल्ड अध्ययनको काम सकिएको छ । यस आयोजनाबाट निस्केको करिब १० लाख क्युबिक मिटर पानी राख्नका लागि सिस्नेरीमै ड्याम बनाइनेछ । जसको पानी पुन रातको समयमा फेरी इन्द्रसरोबर तालमै फर्काउने प्राधिकरणको योजना छ ।

३ रुपैयाँ ४० पैसामा खरिद गरेको बिजुलीबाट ९ रुपैयाँ ४० पैसामा बिक्री हुने बिजुली उत्पादन हुन्छ । तर बिज्ञ भने यो आयोजना प्रतिफलमुलुक बनाउन बिजुली महसुलको दर नै घटाउनु पर्ने बताउँछन् ।

हुनत यसअघि बेगनास तालको पानी रुपामा खसाउने पम्पीङ स्टोरेज आयोजनाका लागि पनि प्राधिकरणले लाइसेन्स पाइसकेको छ । तर त्यो प्रतिफलमुलक नभएको भनेर प्राधिकरणले अहिले काम अघि बढाएको छैन ।