• गृहपृष्ठ
  • उद्यम गर्न चाहनेसँग छैन पैसा, सरकारले छुट्टाएको बजेट फ्रिज हुँदै

उद्यम गर्न चाहनेसँग छैन पैसा, सरकारले छुट्टाएको बजेट फ्रिज हुँदै

Apr 9th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत २७

नयाँ खालका उद्यम गर्ने सोच बनाएका युवाहरुसँग अहिले रकमको अभाव छ । किनकी सपना भएर मात्रै हुँदैन त्यसलाई साकार पार्नका लागि रकम पनि चाहिन्छ ।यता युवा रकमको अभाव छट्पटाउँदै गर्दा त्यस्ता युवाको लागि भनेर सरकारकारले यो वर्ष छुट्टाएको बजेट भने फ्रिज हुँदैछ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा नयाँ सोच भएका युवालाई दुई प्रतिशत ब्याजमा ऋण दिने भनेर घोषणा गर्याे । तर त्यो अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । अब सरकारसँग यस्तो बजेट कार्यान्वयनमा लान जम्मा तीन महिना मात्रै बाँकि छ । यदि यो समयसिमा भित्र कार्यान्वयना जान नसके यो वर्ष पनि बजेट फ्रिज हुने निश्चीत छ ।

यो वर्षको बजेटमा महामारीका बेला आउने अबसर प्रयोग गर्ने खालका नयाँ व्यवसायलाइृ प्रवर्धन गर्ने भने पनि सरकारले त्यसालाई कागजमै सिमित गरेको छ ।

नव उद्यमीलाई प्रोत्साहित गर्न दुई वर्षअघि ल्याइएको कार्यक्रम सरकारले अझै अगाडि बढाएको छैन । कार्यक्रम कसरी कार्यान्वयन गर्ने भन्नेमै सरकार अलमलमा छ । जसका कारण प्रस्ताव पेश गरेका युवा निराश भएका छन् ।

सरकारले गत आर्थिक वर्षको बजेटमा नव उद्यमीलाई परियोजना लागतको ५० प्रतिशत अनुदान रकम दिने कार्यक्रम ल्यायो । कार्यक्रम कार्यान्वयनका लागि भन्दै एक वर्षअघि वैशाखमा राष्ट्रिय योजना आयोगले प्रस्ताव माग्यो तर आयोगले प्रस्तावमाथि अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

सरकारले अनुदान दिने भनेपछिे ६ सय ९९ वटाले प्रस्ताव बुझाएका थिए । उत्कृष्ट प्रस्ताव छानेर नव उद्यमीलाई प्रोत्साहन गर्नका लागि सरकारले ५० करोड रुपैयाँ छुट्याएको थियो ।

गत आर्थिक वर्ष कार्यविधि बनाउने वाहेक केही काम नगरेको सरकारले यो आर्थिक वर्ष पनि बजेट छुट्याएको छ । तर कार्यक्रम कसरी कार्यान्वयन गर्ने भन्नेमा सरकार नै अलमलमा छ ।

कार्यक्रम अन्र्तगत एक करोडसम्म लागतका परियोजनामा सरकारले सुरुवाती पुँजीका रुपमा ५० प्रतिशत अर्थात ५० लाख रुपैयाँका दरले अनुदान दिने गरी एक वर्ष अघि नै कार्यविधि बनाइएपनि यो आर्थिक वर्ष नौ महिना वित्दा समेत कुनै प्रक्रिया अगाडि बढाइएको छैन ।

यो आर्थिक वर्षको बजेटमा नव उद्यमीलाई दुई प्रतिशत ब्याजमा ऋण दिने भनिएकाले गत वर्षका प्रस्ताव अर्थहीन भएको र फेरि आवेदन पेश गर्नुपर्ने सरकारी अधिकारीको भनाइ छ ।सचिवालय तोकिएको उद्योग मन्त्रालयले अहिले काम भइरहेको छ भने पनि के काम भइरहेको छ भनेर ठोस जवाफ दिन सकेको छैन ।