• गृहपृष्ठ
  • एक लिटर तेलमै ८० रुपैयाँ बृद्धि, बजार अनुगमनको जिम्मा लिएको बाणिज्य विभाग रमिते

एक लिटर तेलमै ८० रुपैयाँ बृद्धि, बजार अनुगमनको जिम्मा लिएको बाणिज्य विभाग रमिते

Mar 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत १७

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै तेल उद्योगीहरुले तेलको मूल्य अस्वाभाविक रुपमा बढाएका छन् । गएको एक वर्षमा तेलको मूल्य एक लिटरमा नै ८० रुपैयाँ सम्म बढेको छ ।

अस्वभाविक रुपमा भाउ बढाउने यस्ता दुई वटा तेल उद्योगीलाई सरकारले कार्वाहि गरेपनि यो रोकिएको छैन ।गत वर्षको चैतमा भटमासको तेलको मूल्य १ सय ५० रुपैयाँ प्रतिलिटर थियो । जुन गत दशैमा केहि महंगीएर १ सय ७५ पुग्यो । त्यसपछि भने तेल उद्योगीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै माघसम्म आउँदा प्रतिलिटर २ सय २५ पुराए ।

अस्वााभाविक रुपमा भाउ बढेको भन्ने गुनासो आएपछि सरकारले अनुगमन थाल्यो । यसैबिचमा भारतले पनि आफ्नो देशमा भटमासको कच्चा तेलको आयात बढ्यो । जसका कारण भारत जाने भटमासको तेलमा केहि कमिसँगै सरकारको नियमनका कारण फेरी मूल्य घटेर गत फागुन अन्त्यसम्म प्रतिलिटर २ सय १० सम्म झर्याे । तर अहिले फेरी बढेर यो प्रतिलिटर दुई सय तीस सम्म पुगेको छ ।

बढेको तेलको मूल्यमा अहिले खुद्रा ब्यापारीले बिल समेत पाउन नसकेको गुनासो गर्छन् । थोक ब्यापारीले अहिले एक कार्टुन अर्थात १० लिटरलाई २१ सय रुपैयाँमा बेच्ने तर १९ सयको मात्रै बिल दिने गरेको खुद्रा ब्यापारी बताउँछन् ।

चर्काे मूल्य असुलेको गुनासो आएपछि सरकारले उद्योगमाथि अनुगमन नगरेको पनि होइन । गत माघ ५ गते अप्राकृतिक रुपमा तेलको मूल्य कायम गरेको भन्दै बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बारा जिल्लाको अन्नपुर्ण भेजिटेबल प्राली र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालीलाई उपभोक्ता हित संरक्षण ऐन बिरुद्ध हुने गरि अप्राकृतिक रुपमा मूल्यबृद्धि गरेको भन्दै ३ लाख रुपैयाँ जरिवाना पनि गरियो । तर पनि उद्योगीले फेरी अहिले मूल्य बढाउन सुरु गरेका छन् ।

यसरी अप्राकृतिक रुपमा मूल्य कायम गरेर उपभोक्ता ठग्नेले करोड माथि कमाउने र सरकारले ३ लाख मात्रै कार्वाहि गरेर उन्मुक्ती दिने गरेकाले उनिहरुलाई झनै मूल्य बढाउन हौसला मिलेको उपभोक्ताकर्मि बताउँछन् ।

विभागले तीन लाख भन्दा बढि कार्वाहि गर्न सक्ने व्यवस्था छैन । कि त उपभोक्ता हित संरक्षण ऐन नै संसोधन गरि ठगि बराबरको जरिवाना गर्नुपर्याे कि त विभागले यस्तोमा कार्वाहि नगरि ठगि मुद्दा अनुसार अदालतमा मुद्दा चलाउनुपर्याे । अन्यथा अन्तर्राष्ट्रिय बजारमा १० देखि १५ प्रतिशत कच्चा तेलको भाउ बढ्दा यहाँ ५३ प्रतिशतसम्म भाउ बढाउने क्रम रोकिनेछैन ।