यो वर्ष पुस्तक अभाव नहुने

Mar 25th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, चैत १२

सरकारले यो शैक्षिक सत्र असार बाट सुरु गर्ने निर्णय लिए संगै अहिले जनक शिक्षा सामाग्री केन्द्रमा पुस्तक छाप्ने काम तिव्र रुपमा अगाडी बढेको छ । काठमाडौँ उपत्यका लगाएत धेरै सामुदायीक र निजी विद्यालयमा पठनपाठका लागि अधिकांश पुस्तकहरु जनक शिक्षा सामाग्री केन्द्रले छाप्दै आएको छ ।

गतवर्ष कोरोनाका धेरै पाठ्य सामाग्रीहरु विक्री हुन सकेनन् । जसले कम्पनी करोडौँको घाटा खेप्न बाध्य भएको शिक्षा सामाग्री केन्द्रको गुनासो छ ।तर, यो वर्ष असार बाट सुरु हुने शैक्षिक सत्रका लागि १ देखी १२ कक्षा सम्मका विषयगत पुस्तकहरु धमाधम छाप्ने काम भईरहेको केन्द्रका प्रवक्ता चित्र आचार्य बताउँछन् ।

हरेक वर्ष विकट र हिमाली जिल्ला पर्ने कर्णाली प्रदेश र गण्डकी प्रदेशमा सधै जसो पुस्तकहरु अभाव हुदैँ आएका छन् । यो वर्ष शैक्षिक सत्र पछाडी सरेकोले कार्णाली प्रदेश र गण्डकी प्रदेशमा भने पुस्तक विक्रीका लागि पठाइ सकेको जनक शिक्षा सामाग्री केन्द्रले जनाएको छ ।

अहिले परिमार्जीत भएको कक्षा १ देखी ३ सम्मका पाठ्य पुस्तक छाप्न सरकारले निजी क्षेत्र लाई अनुमति दिएको छ । भने बाँकी कक्षा ४ देखी १० सम्मकोे पाठ्य सामाग्री जनक पुस्तकले छाप्ने छ ।
विगत वर्षहरुको विक्रीका आधारमा निकालीएको तथ्याङक अनुसार शिक्षा सामाग्री केन्द्रले करोड ८४ लाख मध्ये १ करोड ५० लाख किताव छापिसकेको छ । बाँकी ३४ लाख कक्षा ६ को किताव छाप्न बाँकी रहेको उत्पादन विभागका परशुराम भुजुको भनाई छ ।

विक्रीको आधारमा यो वर्ष पनि किताव छाप्ने काम भईरहेको र बैशाख मासन्त सम्ममा सबै नेपाल भरिनै पुस्तक वितरण गर्ने योजना रहेको छ ।