• गृहपृष्ठ
  • ऋण प्रवाह १७ प्रतिशतले बढ्यो, बजारमा ३७ खर्ब ६० अर्ब तरलता

ऋण प्रवाह १७ प्रतिशतले बढ्यो, बजारमा ३७ खर्ब ६० अर्ब तरलता

Mar 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, फागुन २४

महामारीका बिचमा पनि बढेको आर्थिक गतिबिधीले बजारमा अधिक तरलताको स्थिती हटाएको छ। अहिले बैंकमा जम्मा ६० अर्ब बराबरको तरलता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।लामो समय पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताले अहिले लगानी गर्न सुरु गरेका छन् । व्यवसाय सुचारु गर्नका लागि समेत उनिहरुले बैंकबाट ऋण निकाल्न सुरु गरेका छन् । जसका कारण बैंकमा अहिले कर्जाको उच्च माग रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, साउन यता बैंकहरुबाट प्रवाह हुने कर्जा १७ प्रतिशतले बढेको छ । साउनको सुरुवातमा ३२ खर्ब कर्जा प्रवाह भएकोमा अहिले बढेर ३७ खर्ब ५० अर्ब पुगेको छ ।यो वर्षको आठ महिनामै साढे ५ खर्ब बराबरको कर्जा गएको छ । तर यस्तो कर्जा पुषको १५ अर्थात मध्य पुषपछि मात्रै गएको बैंकर्स बताउँछन् ।

नेपाल राष्ट्र बैंकका अनुसार पुष १५ सम्ममा बैंक तथा वित्तीय क्षेत्रमा २ खर्ब बराबरको तरलता थियो । जुन अहिले ६० अर्बमा सिमित हुनुले १ खर्ब ४० अर्ब कर्जा प्रदान भएको बुझिन्छ। अर्थात डेढ महिनामा नै झन्डै डेढ खर्ब बराबरको ऋण प्रवाह हुनुले पछिल्लो समय कर्जाको माग ह्वात्तै बढेको मान्न सकिन्छ ।

यसबाहेक राष्ट्र बैंकले थप ८५ अर्ब बराबरको पुर्नकर्जा बजारमा पठाएको छ । यसरी हेर्दा बजारमा २ खर्ब २५ अर्ब बराबरको थप कर्जा प्रवाह भएको मान्न सकिन्छ । आर्थिक गतिबिधी बढेकाले बैंकहरुबाट प्रवाह हुने कर्जा बढेको हो । पछिल्लो समय आर्थिक गतिबिधी बढेको र यसले कर्जा बढेको राष्ट्र बैंक बताउँछ ।

अहिले आयात बढेको छ । जसका कारण आयातमा जाने कर्जामा पनि भारि बृद्धि भएको हो । यसबाहेक अहिले घरजग्गाको कारोबारमा पनि राम्रो बृद्धि देखिएको छ । , जसले पनि ऋण प्रवाह ह्वात्तै बढाएको हो ।साथै उद्योगधन्दा पनि चैतको तुलनामा धेरैजसो सञ्चालन आएकोले औद्योगिक गतिबिधी बढेको राष्ट्र बैंकले गरेको अध्ययनको निष्कर्ष छ । बिदेशी पर्यटकको आगमन हुन नसकेकाले पर्यटन बाहेक अन्य क्षेत्र पुरानै अवस्थामा फर्कन लागेका छन् ।

पर्यटन क्षेत्रले पनि आगामी दिनमा बैंकहरुबाट कर्जा लाने संभावना छ । बिश्वभर लगाइएको कोरोना खोपका कारण अब कोरोना सामान्य हुँदै जाने र यसपछि मानिसहरु घुम्न निस्कीने हुन्छ ।