तीन सडकलाई रु ७५ करोड सहयोग

Mar 7th, 2021

तनहुँ, २३ फागुन /रासस

जिल्लाको व्यास नगरपालिका क्षेत्रका तीनवटा मुख्य सडकको स्तरोन्नतिका लागि नेपाल शहरी तथा पूर्वाधार आयोजनाको समन्वयमा रु ७५ करोड तीन लाख सहयोग प्राप्त हुनेभएको छ । नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएअनुसार सडक निर्माणका लागि उक्त रकम सहयोग प्राप्त हुने भएको व्यास नगरपालिका कार्यालयले जनाएको छ । सम्झौता पत्रमा आयोजनाका तर्फबाट आयोजना प्रमुख नवराज प्याकुरेल र व्यास नगरपालिकाको तर्फबाट नगरप्रमुख वैकुण्ठ न्यौपानेले हस्ताक्षर गर्नुभएको हो ।

सो सडकअन्तर्गत घाँसीकुवा, फराकचौर, माझँफाट, कलेस्ती हुँदै व्यास मार्ग जोडिने पराशर मार्ग, पतेनीटार, चिन्तुटार, मादिवेशी, शेखटार हुँदै शिशाघाट जोडिने मार्ग र केशवटार, कुलुङ, छाब्दी, कर्लुङ हँुदै छिर्कने निस्कने मार्गको स्तरीकरण (कालोपत्रे) गर्ने कार्यक्रम रहेको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो । योजनाअन्तर्गत लैङ्गिक समानतालगायत पूर्वाधार निर्माण र शासकीय सुधारका विषयमा पनि कार्यक्रम गरिनेछ । हाल वहाल रहेका जनप्रतिनिधि निर्वाचित हुने वित्तिकै नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएअनुसार काम अगाडि बढ्नुपर्नेमा कोभिडलगायत विविध कारणले नगरपालिकासँगको सम्झौता ढिलो हुन पुगेको हो ।

देशभरका ३३ नगरपालिकासँग आयोजनाका तर्फबाट सम्झौता गरिएको छ । आयोजनाका तर्फबाट करिब १४ अर्ब बजेटमा यो कार्यक्रम सञ्चालन हुँदैछ । गण्डकी प्रदेशका पोखरा महानगरपालिकासहित व्यास, शुक्ला, बाग्लुङ र स्याङ्जाको पुतलीबजार नगरपालिकासँग सम्झौता गरिएको हो । योजना सम्पन्न गर्ने अवधि पाँच वर्षको हुनेछ ।

आयोजनाले व्यास नगरपालिकाको ग्रामीण र शहरी क्षेत्रलाई पर्यटनका माध्यमबाट विस्तार गर्ने कार्यलाई सहयोग पुर्याउने छ । मादी उपत्यकाको वारिपारि क्षेत्र तथा छाब्दी, कुलुङ पर्यटन क्षेत्रको विकास हुने पनि व्यास नगरपालिकाले लक्ष्य लिएको छ । शहरी क्षेत्रमा जनघनत्व बढ्दै गइरहेको र बसाइसराइ तीव्र भइरहेको अवस्थामा यो योजना सम्पन्न भएपछि गाउँ छाडेर शहर झर्ने क्रम रोकिने अपेक्षा गरिएको छ ।

साथै आयोजनाको कार्यान्वयनको चरणमा बृहत् शहर विकास अभियानअन्तर्गत स्याङ्जा, पोखरा, शुक्लागण्डकी र व्यास क्षेत्रलाई शहरी क्षेत्रमा विकसित गर्न सम्बन्धित मन्त्रालय र विभागले प्राथमिकतामा राखेको बताइएको छ ।