• गृहपृष्ठ
  • अर्थतन्त्रमा सेवाको योगदान बढ्दै, ५१ प्रतिशतबाट ६० प्रतिशतमा पुग्यो

अर्थतन्त्रमा सेवाको योगदान बढ्दै, ५१ प्रतिशतबाट ६० प्रतिशतमा पुग्यो

Mar 7th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, फागुन २३

सेवा क्षेत्रमा होटल, यातायात, घरजग्गा, बैंक बित्त, सञ्चार लगायत पर्छन् । ती क्षेत्रको योगदान १० वर्ष अघि ५१ प्रतिशत रहेकामा अहिले बढेर ६० प्रतिशत नाघेको छ ।अल्पविकसित मुलुकको सूचिमा रहेको नेपाल पााच वर्षपछि विकासशील मुलुकको सूचिमा प्रवेश गर्दैछ । त्यहि कारण यतिबेला सेवा क्षेत्रको वृद्धि सामान्य भइ उद्योगको योगदान ह्वात्तै बढ्नु पर्ने हो । तर मुलुकमा औद्योगिक गतिविधि बढ्न सकेको छैन ।

वैदेशिक रोजगारीमा रहेका युवाले पठाएको विप्रेषणले विदेशबाटै बस्तु आयात गरि खपत गर्ने क्रम बढ्दो छ । जसका कारण सेवा क्षेत्रको योगदान बढेको हो । उद्योगको साटो सेवा क्षेत्रको योगदान बढ्नुलाई अर्थतन्त्रका जानकारहरु जोखिमपूर्ण भन्छन् । अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान निरन्तर ओरालो लागेपनि औद्योगिकरणतर्फ सरकारको ध्यानै छैन । जबकि आयात प्रतिस्थापन र आन्तरिक उत्पादन बढाएर दिगो विकास गर्न औद्योगिकरणको विकल्प छैन ।

अर्थतन्त्रमा कृषि र उद्योग क्षेत्रको योगदान घट्दै गएको छ । अल्पविकसितबाट विकासशील हुने क्रममा कृषिको योगदान घटेर उद्योगको योगदान बढ्नुपर्नेमा सेवा क्षेत्रको योगदान बढेको छ । जसलाई अर्थविदले अर्थतन्त्रमा जोखिम बढेको रुपमा अर्थाएका छन् ।

अल्पविकसित मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी हुन्छ । २० वर्ष अघि देशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान ३६ प्रतिशत थियो । अहिले २६ प्रतिशतमा झरेको छ । मुलुक अल्पविकसितबाट विकासशिलतर्फ प्रवेश गर्दै गर्दा कृषि क्षेत्रको योगदान घट्नुलाई सकारात्मक मानिन्छ ।

तर कृषिको योगदान घट्दा उद्योग क्षेत्रको योगदान बढ्नु पथ्र्यो । तर उद्योगको योगदान बढ्नु त परै जाओस उल्टो घटिरहेको छ । आर्थिक वर्ष २०६७/६८ मा अर्थतन्त्रमा उद्योगको योगदान ६ दशमलव शुन्य नौ प्रतिशत थियो ।

अहिले ५ दशमलव एक प्रतिशतमा झरेको छ । अर्थात १० वर्षमा उद्योग क्षेत्रको योगदान बढ्नुको साटो १६ दशमलव दुई पााच प्रतिशतले घटेको छ । औद्योगिकिकरण पछि विकसित मुलुकमा प्रवेश गर्दा बढ्नु पर्ने सेवा क्षेत्रको योगदान भने अहिले नै अकासिएको छ । जुन अर्थतन्त्रमा सकारात्मक होइन ।