• गृहपृष्ठ
  • बायर्न म्युनिखको जितमा लेवान्डोव्स्कीले गरे ह्याट्रिक

बायर्न म्युनिखको जितमा लेवान्डोव्स्कीले गरे ह्याट्रिक

Mar 7th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन २३

जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले बोरुसिया डर्टमण्डलाई ४-२ गोलले पराजित गरेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन रोबर्ट लेवान्डोव्स्कीले ह्याट्रिक र लियोन गोरेत्स्काले एक गोल
गरे । बोरुसिया डर्टमण्डका ईरलिंग ब्रुट हालाण्डले दुई गोल गरे।

खेलमा पहिलो अग्रता बोरुसिया डर्टमण्डलेनै लिएको थियो।खेलको दोस्रो मिनेटमानै हालाण्डले गोल गर्दै डर्टमण्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।नवौं मिनेटमा हालाण्डले
व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डको अग्रता दोब्बर पारे ।

खेलको २६ औं मिनेटमा बायर्नका लेवान्डोव्स्कीले गोल गर्दै २-१ को स्थितिमा ल्याए । ४४ औं मिनेटमा रोबर्ट लेवान्डोव्स्कीले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ८८ औं मिनेटमा बायर्नका लियोन गोरेत्स्काले गोल गर्दै टोलीलाई ३-२ ले अघि बढाए।त्यसको दुई मिनेटपछि लेवान्डोव्स्कीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे र टोलीलाई ४-२ को सानदार जित दिलाए ।

जितसँगै बायर्नले २४ खेलबाट ५५ अंक जोडेको छ र शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ ।पराजित बोरुसिया डर्टमण्डको ३९ अंक छ छैटौं स्थानमा छ ।