• गृहपृष्ठ
  • चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो

चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो

Mar 6th, 2021

कायरो,२२ फागुन /रासस/सिन्ह्वा

चीनले अरब लिगलाई कोभिड १९ का विरुद्धको खोप उपलब्ध गराएको जनाइएको छ । बिहीबार चीन सरकारले अरब लिगलाई सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोप अरब लिगको सचिवालयमा उपलब्ध गराएको हो । इजिप्टको कायरोमा रहेको अरब लिगको सचिवालयमा लगेर इजिप्टका लागि चिनियाँ राजदूतले सो खोप उपलब्ध गराउनु भएको प्राप्त समाचारमा जनाएको छ । इजिप्टका लागि चिनियाँ राजदूत लियो लिकियाङले सो कुराको जानकारी गराउनु भएको हो ।

त्यस अवसरमा उहाँले खोप उपलब्ध गराएसँगै यसबाट चीन र अरेबियाली देशहरुका बीचको सम्बन्धमा नयाँ आयाम थपिने पनि उल्लेख गर्नुभयो । उहाँले यो अवस्थाले चीन र अरब विश्वको सम्बन्ध आगामी दिनमा थप बलियो बन्दै जाने धारणा पनि राख्नुभयो । उहाँले बहिरी विश्वमा जे जस्तोसुकै राजनीतिक अवस्था भए पनि चीन र अरब विश्वका देशहरुबीचको सम्बन्ध राम्रो रहेको धारणा उहाँले राख्नुभयो ।

इजिप्टमा रहेको अरब लिगको सचिवालयमा एक विशेष समारोहको आयोजना गरेर खोप हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको थियो । चीनले यसअघि पनि अरबका विभिन्न देशलाई सिनोफार्म कम्पनीको खोप उपलब्ध गराएको थियो । चीनले यसअघि पनि कोभिडको संक्रमणको शुरुआतका समयमा पनि कतिपय अरब देशहरुलाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो ।