• गृहपृष्ठ
  • पूर्वमन्त्री जोशीलाई भेन्टिलेटरबाट निकालियो, बायाँ भाग पनि चल्न थाल्यो

पूर्वमन्त्री जोशीलाई भेन्टिलेटरबाट निकालियो, बायाँ भाग पनि चल्न थाल्यो

Mar 5th, 2021

काठमाडौ, फागुन २१

मष्तिष्कघात भई गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना हुनुभएका कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले आफैं सास फेर्न थाल्नुभएको छ ।
नेता जोशीको अवस्थामा चमात्कारिक सुधार भएपछि बिहीबार बिहानदेखि नै भेन्टिलेटरको फूल सपोर्ट हटाइएको हो । उहाँको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाका अनुसार भेन्टिलेटर हटाएपछि उहाँले सामान्य रुपमा सास फेर्न थाल्नुभएको छ । ‘यो भनेको अनपेक्षित सुधार हो ।’ डा. झाले भन्नुभयो–‘जोशीको स्वास्थ्यमा यति चाँडै यति राम्रो सुधार होला भन्ने लागेको थिएन ।’

सोमबार बिहानदेखि उहाँलाई मेसिनले सास फेराउने कामलाई घटाउँदै लगिएको थियो । अवस्थामा तीव्र सुधार भएपछि बिहीबारदेखि पूर्ण रुपमा भेन्टिलेटरबाट निकालिएको हो । सुरुवातमा मष्तिष्कघातका कारण उहाँको बायाँ भागमा प्यारालाइसिस भएको आशंका गरिएको थियो । तर, बिहीबार साँझदेखि उहाँले बायाँ हातखुट्टा पनि सामान्य चलाउन थाल्नुभएको छ । तर, प्यारालाइसिस नै नभएको भनेर भनिहाल्ने अवस्था भने नरहेको चिकित्सकहरुको भनाई छ ।

बेहोस् अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर बुधबार बिहान नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी(ट्रयाकियोसटोमी) गरिएको थियो । यहीकारण पनि जोशीलाई चाँडै भेन्टिलेटरबाट निकाल्न सकिएको डा. झाले बताउनुभयो ।