• गृहपृष्ठ
  • हेटौँडामा मिनी रङ्गशाला निर्माण गरिँदै

हेटौँडामा मिनी रङ्गशाला निर्माण गरिँदै

Mar 5th, 2021

वाग्मती, २१ फागुन /रासस

वाग्मती प्रदेशको राजधानी हेटौँडा बजारमा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी रङ्गशाला बनाउने काम थालिएको छ । खेलमैदानको वरपर आठ लेनको ४०० मिटर लामो एथलेटिक्स ट्र्याक निर्माण शुरु भएको हो । ट्र्याक निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा रु ११ लाख बजेट उपलब्ध गराएको छ । मकवानपुरमा एथ्लेटिक्स ट्र्याक हालसम्म निर्माण भएको थिएन ।

यसअघि जिल्ला एथलेटिक्स सङ्घ मकवानपुरले हुप्रचौरभित्र ट्र्याक निर्माण गर्ने नाममा केही रकम खर्च गरेर योजना बीचैमा अलपत्र बनाएको थियो । अब क्याम्पाचौरमा एथलेटिक्स ट्र्याक निर्माणले पूर्णता पाउने हेटौँडा–५ का वडाध्यक्ष राजेश बानियाँले जानकारी दिनुभयो ।

यस वर्ष प्यारापिटको जग निर्माण गरिसक्ने र आगामी वर्ष माथिल्लो भाग निर्माण सक्ने योजना छ । प्यारापिट निर्माणका लागि आगामी वर्ष उपयुक्त बजेट उपलब्ध गराइने हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । पिप्ले युवा क्लबले ट्र्याक मात्र नभई मैदानको दक्षिणतर्फ प्यारापिट पनि निर्माण गर्ने भएको छ । कङ्क्रिट प्यारापिटका लागि उपमहानगरबाट रु २० लाख बजेट उपलब्ध भएको छ ।

मैदान सम्याउने र घाँस उमार्ने काममा हाल पिप्ले युवा क्लब व्यस्त छ । विगतमा कार, मोटरसाइकल सिक्ने मैदानका रूपमा प्रयोग हुँदै आएको क्याम्पाचौरलाई तारजाली लगाएर सुरक्षित गरिएको छ । पिप्ले युवा क्लबले मैदानबाहिर हरियाली बगैँचा पनि निर्माण गर्दैछ । रुख, फलफूलका बिरुवा रोपण गरेर मैदानलाई हरियाली बनाउने योजना क्लबको छ । डिभिजन वन कार्यालय मकवानपुरले बगैँचासहितको संरचना निर्माणका लागि रु १० लाख उपलब्ध गराएको छ । क्लबले खुला जिमहाउससमेत निर्माण गर्ने योजना बनाएको छ ।

रिद्धिसिद्धिका महाप्रबन्धक धरौटीमा रिहा

उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हेटौँडास्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्रबहादुर मल्ल रु तीन हजार धरौटीमा रिहा हुनुभएको छ । उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको अभियोगमा मल्ललाई मकवानपुर प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशमा मल्ललाई धरौटीमा रिहा गरिएको हो । महिला कर्मचारीले आफूमाथि दुव्र्यवहार भएको भनी उजुरी दिएपछि सोधपुछका लागि बोलाइएका ५८ वर्षीय मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।