• गृहपृष्ठ
  • ३९ खर्ब ४३ अर्बको अर्थतन्त्र, गत आर्थिक वर्षमा १.९९ प्रतिशतले नकारात्मक आर्थिक बृद्धि

३९ खर्ब ४३ अर्बको अर्थतन्त्र, गत आर्थिक वर्षमा १.९९ प्रतिशतले नकारात्मक आर्थिक बृद्धि

Mar 5th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, फागुन २१

अहिलेको अर्थतन्त्र ३९ खर्ब ४३ अर्बको रहेको राष्ट्रिय तथ्यांक विभागको अध्ययनमा देखिएको छ । तर अर्थतन्त्रको कुल आकार बढेपनि औसत प्रतिव्यक्ति आय भने २५ अमेरिकी डलरले घटेर १ हजार १ सय ३४ डलर पुगेको अनुमान गरिएको छ ।

गत वर्ष आर्थिक वर्ष २०७५/७६ मा नेपालीको औसत प्रतिव्यक्ति आय १ हजार १ सय ५९ डलर थियो ।राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको आकडा अनुसार मुलुकको अर्थतन्त्र १ दशमलव ९९ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक वर्षको आर्थिक बृद्धिदर ऋणात्मक हुने प्रक्षेपण गरेको हो । करिब ४० दशकपछि मुलुकको अर्थतन्त्र पहिलो पटक नकारात्मक बृद्धि भएको छ ।

यसअघि आर्थिक वर्ष २०३६/३७ मा नेपालको अर्थतन्त्र १.३ प्रतिशतले ऋणात्मक भएको थियो ।भूकम्प र नाकाबन्दीले भन्दा कोरोना महामारीले अर्थतन्त्रलाई बढि क्षति पुराएको देखिएको छ ।२०७२ सालको भूकम्प र भारतको अघोषित नाकाबन्दीका बेलामा मुलुकको अर्थतन्त्रको वृद्धिदर शून्य प्रतिशतको हाराहारीमा झरेपनि नकारात्मक बृद्धि भने भएको थिएन ।

सरकारले भने गत आर्थिक वर्ष ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । विभागले भने कोरोना महामारीले अर्थतन्त्रमा असर परेको देखाइ वैशाखसम्मको लकडाउनलाई आधार मानेर वृद्धिदर २ दशमलव दुई सात प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको थियो । गत आर्थिक वर्षको चौथो त्रैमासमा मात्र अर्थतन्त्र १५ दशमलव ४ प्रतिशतले ऋणात्मक भएको आकलन छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कडेलले भने ‘ हामीले सुरुमा बैशाखबाट अर्थतन्त्र सामान्य हुन्छ भन्ने आधारमा मापन गरेका थियौ, तर स्थिती हामीले सोचेजस्तो रहेन, अब भने अर्थतन्त्र पुरानो लयमा फर्कन लागेको छ । ’अर्थतन्त्र भि सेपमा रिकभर हुन थालेको छ। अर्थात १५ दशमलव चार प्रतिशतले खुम्चन पुगेको अर्थतन्त्र अहिले पहिलो त्रैमासमा ४ दशमलव ५ प्रतिशतमै सिमित रहेको छ ।

विभागले तथ्यांकको गणनामा आधार वर्ष परिवर्तन गरेको छ । यसअघि सन् २०००/२००१ लाई आधार वर्ष मानेर तथ्यांक मापन गर्ने गरिएकामा यसपालि २०१०/२०११ लाई आधार वर्ष मानिएको छ । आधार वर्षमा परिवर्तनले पनि वृद्धिदर ऋणात्मक हुने देखिएको विभागको भनाइ छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको आर्थिक बृद्धि समेत ४ दशमलव ६ प्रतिशतले ऋणात्मक हुने विभागको अनुमान छ । महामारीको असर निकै कम भएकाले अर्थतन्त्र लयमा फर्कन थालेको विभागले जनाएको छ ।