• गृहपृष्ठ
  • घाटा खेपेरै गरिन्छ कृषिजन्य बस्तुको उत्पादन, राज्यको नारामात्रै छैन कार्यान्वयन

घाटा खेपेरै गरिन्छ कृषिजन्य बस्तुको उत्पादन, राज्यको नारामात्रै छैन कार्यान्वयन

Mar 4th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, फागुन २०

कृषिजन्य बस्तुको उत्पादनमा कृषकहरुले घाटा खेपेरै भएपनि उत्पादन गरिरहेको देखिन्छ । निर्वाहमुखि कृषि अहिले पनि आम्दानीमुलक बन्न सकेको छैन ।

कृषकहरुले कृषि उत्पादनमा आर्थिक तथा श्रमको लगानी गर्छन् । आर्थिक लगानी अनुसारको उत्पादन उठेपनि उनिहरुले गरेको श्रम अनुसारको लगानी भने उठ्न सकेको छैन । पूख्र्यौली बाट पाएको जग्गाको मोल र त्यसमा किसानले गरेको श्रमसँग कृषकको आर्थिक लगानी पनि जोड्ने हो भने किसान अहिले पनि मारमा नै रहेको देखिन्छ ।

एक अध्ययन अनुसार धानमा एक रुपैयाँ लगानी गरेर जम्मा शुन्य दशमलव नौ आठ रुपैयाँ मात्रै कमाएको देखिन्छ । खाद्य सुरक्षाका हिसाबले धान अग्रस्थानमा पर्छ । जसले गर्दा राज्यले यसलाई प्राथमिकता दिएर उत्पादन गर्नुपर्ने हो ।

खानका लागि आवश्यक भएर धानको उत्पादन गर्ने गरिएको भएपनि लागत अनुसारको लाभ खोज्ने हो भने चाहि यसमा न्युन मात्रै प्रतिफल छ । बिज्ञहरुका अनुसार एक हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीमा कृषकले एक वर्षमा जम्मा २० हजार रुपैयाँ मात्रै प्रतिफल पाउन सक्छ । उत्पादकत्व बढाउन सरकारले खास ध्यान नदिएका कारण ४० वर्ष अघिसम्म धान निर्यात गर्ने राज्यले एक वर्षमा नै ८ अर्ब ८८ करोडको धान आयात गर्ने गरेको छ ।

त्यस्तै खाद्य सुरक्षाका हिसाबले दोस्रो स्थानमा रहेको मकै खेती गर्नेहरुले एक रुपैयाँ लगानी गरेर एक रुपैयाँ १ पैसा कमाएको देखिन्छ । त्यस्तै गहु र कोेदोमा १ रुपैयाँ लगानी गरेर एक रुपैयाँ, आलुमा एक रुपैयाँ लगानी गरेर एक रुपैयाँ तिन पैसा गोलभेडामा एक रुपैयाँ लगानी गरेर शुन्य दशमलव ३६ पैसा मात्रै आम्दानी भएको निष्कर्ष छ ।

राज्यले कृषि क्षेत्रलाई संरक्षण गर्ने नीति ल्याउन नसक्नु र खुला सिमाका कारण भारतीय बजारबाट प्रवेश हुने कृषि जन्य उत्पादनका कारण यहाँका कृषकहरुले लाभ लिन नसकेको किसानहरु बताउँछन् ।

खुला सिमाका कारण हुने आयातमा राज्यले कडाई गर्नुका साथै राज्यले किसानलाई ब्याजमा नभई प्रत्यक्ष दाना, बिजुलीमा अनुदान दिनुपर्छ । यति मात्रै नभई उत्पादित बस्तुको बजार समेत सरकारले किसानले घाटा ब्यहोर्नुनपर्ने गरि सुनिश्चीत गर्न सक्नुपर्छ ।

६ वर्ष पहिले कुल गार्हस्थ उत्पादन अर्थात देशभरि उत्पादन भएको बस्तु तथा सेवाको जोडमा कृषिको योगदान ३३ प्रतिशत थियो । तर कृषि प्रधान मुलुकमा नै यस्तो योगदान वर्षेनी घटेर अहिले २७ प्रतिशतमा आइपुगेको छ । सरकारले बजार सुनिश्चीत गर्न सकेको छैननै यसमाथि कृषकहरुले लागत अनुसारको लाभ पाउन सकेका छैनन् ।