• गृहपृष्ठ
  • खाडीमा पैसा कमाउन गएकाहरुको कहाली लाग्दो मृत्यु, ६ महिनामा ४ सय १३ जनाको ज्यान गयो

खाडीमा पैसा कमाउन गएकाहरुको कहाली लाग्दो मृत्यु, ६ महिनामा ४ सय १३ जनाको ज्यान गयो

Mar 2nd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, फागुन १८

पैसा कमाउन भनेर खाडी मुलुक जानेहरुको मृत्यु कहालीलाग्दो रुपमा बढेको छ । स्वदेशमा रोजगारीको अभाव हुँदा वैदेशिक रोजगारीमा गएका युवाको मृत्युदर बढेको छ । कोरोना महामारीले रोजगारीमा जानेको क्रम सुस्ताएकै बेला मृत्युदर भने बढेको हो । चालु आर्थिक वर्ष ६ महिनामा ४ सय १३ नेपाली श्रमिकले विदेशमा ज्यान गुमाएका छन् ।

यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ बढी हो । मृत्युदर बढ्नुको कारणबारे अध्ययन त भएको छैन । सरकारी अधिकारीले भने यसमा कोभिडको धेरथेर प्रभाव रहेको अनुमान गरेका छन् ।वैदेशिक रोजगार बोर्ड सचिवालयका अनुसार मलेसियामा मात्र अझै १३ श्रमिकका शव छन् । साउदी अरेबिया र कुवेतमा ज्यान गुमाएका नेपाली श्रमिकको शव ल्याउने प्रक्रिया अगाडि बढाइएको छ ।

सरकारले श्रम स्वीकृति लिएर गएका युवाको मात्र अभिलेख राख्ने गरेको छ । भिजिट भिषामा र धावन मार्ग प्रयोग गरी भारत हुँदै गएका श्रमिकको अभिलेख छैन । त्यसरी जाने श्रमिकको ज्यान गए परिवारले सरकारी सुविधा पाउँदैन ।

श्रम स्वीकृति लिएर जाने श्रमिकको ज्यान गए आश्रित परिवारलाई सरकारले सात लाख रुपैयाँ सहयोग गर्छ । विदेश जानुअघिको अभिमुखीकरण तालीम भने प्रभावकारी छैन । तालीम प्रभावकारी नहुनु, विदेशी हावापानीमा घुलमिल हुन नसक्नु, बाटो काट्न नजान्नु र सम्झौता विपरीत कम पारिश्रमिकमा कठिन काम लगाउने गरिएकाले श्रमिकको मृत्युदर बढेको विज्ञहरुको आकलन छ ।

पारिश्रमिकका आधारमा आकर्षक मानिने कोरियामा जाने कतिपय युवाले काम गर्न नसकेरै आत्महत्याको बाटो रोज्ने गरेका छन् ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा ज्यान गुमाउनेमध्ये दक्षभन्दा अदक्ष श्रमिक धेरै छन् ।

प्रचण्ड गर्मिमा काम गरेकाहरु रातीमा धेरै चिसो बनाएर सुत्दा पनि मृत्यु हुने गरेको छ । त्यसैले यस्ता स्वास्थ्यका कुराहरु पनि सिकाउनु जरुरी छ ।