जूनको उज्यालोमा अडिएको समय

Feb 26th, 2021

काठमाडौँ, १४ फागुन

जमिन खनेर घाम निकाल्नेहरूकै
आँखाबाट नुनिलो उखु-रस चुहिने समय हो यो

यो समय
एउटा घाम हरबिहान टेबुलमुनीबाट उदाउछ
र हररात बेहोससँग डुब्छ वाईनको बोतलभित्र

अस्पतालको शैय्याहरूमा छिर्छ-पुच्छरसहितको घाम
र त्रसित रहन्छन् मस्तिष्कहरू-सम्भावित दुर्घटनाको भयमा

घामको पाइला , जब पर्छ सडकमा
कैयौँ बाटाहरू क्षतबिक्षत हुन्छन् जीवनको लयबाट

घाम जब आफैँ ‘ग्रान्ड डिजाइन’ गर्छ-हवाई’जहाजमा उडाउने
हजारौँ आकाशको हृदयभरि उड्छ कालो बादल

जब घामले ठान्छ-दुरसंचारबाट जोडिने तपाईंको मुटुमा
र फुलाउने ओठभरि मुस्कान
अबरुद्ध हुन्छ अर्थतन्त्रको गला !

हिँड्दै गरेको बाटोमा पनि मुस्कुराउँदै आउन सक्छ घाम
र अपदस्त गर्न सक्छ तपाईंको ओठबाट मुस्कान ,
तपाईंका पाइला पाइलामा जासुसी गर्दै
घुस्न सक्छ बिजुलीको मिटरमा ,
चोटा,
कोठा,
स्टोर रूममा ,
तपाईंको पूजाकोठाको भगवान् घामकै एजेन्ट हो
टेलिभिजन च्यानलको रिमोटमा उसकै उपनिवेश चल्छ
याद छ तपाईंकै अनुहार पनि
हरबिहान पग्लिएर खस्छ धाराको नलबाट

पाठशाला हिँडेका कलिला घामहरू
पाइलापाइलामा ठोक्किन्छन्घा-महरूको यस्तो रक्तहिन अनुहारसँग
र पढ्छन्आ-यातित ‘दिव्योपदेश’मा पृथ्वीनारायण शाह !

ओ ! गणतन्त्र ,
हरबिहान टेबुलमुनीबाट उदाउँछ तिम्रो घाम
र हररात बेहोस बेहोससँग अस्ताउँछ वाइनको बोतलभित्र !

जूनहरू धमिलो उज्यालो च्याप्दै
छातीबाट निस्किएको लम्बेतान बाटो हेर्छन्
सपना भत्किन्छ र औँशी आउँछ
छातीबाट खस्छ उज्यालो र जीवन मुस्कुराउँछ

थाहा छैन जूनको छातीबाट खसेको उज्यालोले
कतिन्जेल देखिन्छ युगको अनुहार !?

हेम सरिता पाठक फाउन्डेसनले आयोजना गरेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा रौतहट निवासी कवि मनोज विश्वकर्मा प्रथम हुनु भएको छ ।

समाजसेवी हेम पाठक र सरिता पाठक ९टेक्सस, अमेरिका०ले स्थापना गर्नु भएको सो पुरस्कारमा एक हजार अमेरिकी डलर राशीसहित सम्मानपत्र रहेको छ ।

प्रतियोगिताका लागि प्राप्त कविताहरुमध्ये पहिलो चरणमा उत्कृष्ट पच्चीस कविताहरु सार्वजनिक गरिएको र ती कविताहरुको जुम माध्यमबाट प्रत्यक्ष वाचन पनि गराइएको थियो । सो प्रतियोगिताको लागि डा। रामप्रसाद ज्ञवाली, स्नेह सायमि र गीता त्रिपाठी रहेको तीन सदस्यीय निर्णायक समिति बनाइएको र सो समितिले गरेको सिफारिसका आधारमा निर्णय घोषणा गरिएको हो ।

उत्कृष्ट २५ कविमा श्री मनोज विश्वकर्मा, श्री जितेन्द्र बस्नेत, श्री संगीता पोखरेल, श्री पिटर कुवर, श्री प्रकाश आचार्य, श्री जीवन आरोही, सानु खनाल श्री दिलीप कुवर, श्री जनक रसिक, श्री दीप पाण्डे, श्री प्रज्वल अधिकारी, श्री निरज दहाल, श्री टीएन भट्ट “विश्वामित्र”, श्री रमा अधिकारी कादम्बरी, श्री सुरज पराजुली, श्री सुष्मा तिमल्सिना, श्री सन्तोष लामिछाने, श्री दिपेन्द्र अरुण, श्री केशवराज ज्ञवाली श्री मोहित जोशी, श्री सोमनाथ दहाल, श्री नवराज अधिकारी, श्री नारायण अधिकारी, श्री सुवास शर्मा र श्री भीष्मप्रसाद भट्टराई रहेको छ ।

काठमाडौंमा कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने र उत्कृष्ट पच्चीस कविताको पुस्तक प्रकाशन पनि गरिने छ । यसैगरी एक हजार अमेरिकी डलर राशीको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय गीत प्रतियोगिताको लागि अन्तिम मिति २०७७ फागुन १५ गतेसम्म तोकिएको छ ।