• गृहपृष्ठ
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३ औं वर्षमा

शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३ औं वर्षमा

Feb 23rd, 2021

काठमाडौ, फागुुन ११

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३औं वर्षमा प्रवेश गरेको छ । १२ औं वार्षिकोत्सवको अवसरमा बैंकले बुटवलको कालिकानगरमा नव निर्मित आफ्नै भवनबाट सेवा प्रवाह शुरु गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले पत्रकार सम्मेलन गरी राष्ट्रियस्तरमा स्तरोन्नति भएपनि लुम्बिनी प्रदेशलाई केन्द्र मानेर समग्र बैंकिङ क्षेत्रसँग प्रतिस्पर्धा गर्ने जनाएको छ ।

बैंकलाई समुदायको भावना र चाहना अनुसार अगाडि बढाउदै आएको र लुम्बिनी प्रदेशबासीको पहिलो रोजाईको बैंक बनाउन सफल भएको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । उनले राष्ट्रकै अग्रणी विकास बैंक बन्ने लक्ष्यमा साथ बैक अगाडि बढेको जानकारी दिए ।

बैकका अध्यक्ष थानेश्वर पौडेलले १२ बर्षअघि छ करोड पु्ंजीबाट सुरु गरिएको बैंकको चुक्ता पुंँजी तीन अर्व ४० करोड र जगेडा कोष ७२ करोड गरी चार अर्व १२ करोड पुगेको जानकारी दिए । बैंकमा हाल ३३ अर्व १२ करोड निक्षेप रहेको र ३० अर्व ५० करोड कर्जा प्रवाह गरिएको तथा चार लाख २३ हजार ग्राहक रहेको बैंकले जनाएको छ । बैंकका अध्यक्ष पौडेलका अनुसार बैंकको काठमाडौंमा तीनवटा सहित देशभर ७८ वटा शाखा कार्यालय र तीन वटा एक्स्टेन्सन काउण्टर रहेका छन् । लुम्बिनी प्रदेशमा शाखा संख्या, निक्षेप संकलन, कर्जा लगानी, ग्राहक संख्या सबै हिसाबले शाइन रेसुंगा बैंक एक नम्बरमा रहेको छ ।

अध्यक्ष पौडेलले बैंकले कुल कर्जाको २४.६९ प्रतिशत लगानी उत्पादनशील क्षेत्रमा र १०.९९ प्रतिशत लगानी कृषि क्षेत्रमा गरेको जानकारी दिए । बैंकले यसअघि अनुमति लिदा लुम्बिनीका तीन जिल्लालाई कारोवार र शाखा सञ्चालन गर्ने गरी अनुमति लिएकोमा राष्ट्र बैंकको निर्देशन अनुसार गुल्मीको रेसुंगा बिकास बैंक,प्युठानको गौमुखी विकास बैंक, भैरहवाको पुर्णिमा बिकास बैंक र नेपालगन्जको भार्गव बिकास बैंकलाई मर्ज गरी राष्ट्रिय स्तरको बिकास बैंक बनेको अध्यक्ष पौडेलले बताए । त्यसैगरी बैकमा २७२ महिला र ३३५ जना महिला गरी ६०७ कर्मचारी तथा १६७ जना सुरक्षागार्ड गरी ७७४ जनाले रोजगारी प्राप्त गरेका छन् । बैंकको लुम्बिनी प्रदेशका १० जिल्लामा (रोल्पा र रुकुम बाहेक) ६८ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन कार्यालय, वागमती प्रदेशको चितवनमा १, काठमाण्डौमा ३, गण्डकी प्रदेशको बाग्लुङ्गमा १ गरी ७३ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन कार्यालय सञ्चालनमा रहेका छन् भने काठमाडौमा २ वटा, पोखरामा १ वटा, सुदुर पश्चिम प्रदेशको धनगढीमा १ र महेन्दनगरमा १ शाखा कार्यालयको भौतिक संरचना निर्माण भई रहेको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।

बैंकको ४ लाख २३ हजार भन्दा बढी ग्राहकहरु रहेका छन् । नेपाल राष्ट्र बैंकले कूल कर्जाको कम्तीमा १६ प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने नीतिगत ब्यवस्था गरेकोमा बैंकले २०७७ पौष मसान्तसम्ममा उत्पादनशील क्षेत्रमा कूल कर्जाको २४.६९ प्रतिशत लगानी गरेको छ भने कृषि लगायत ब्याज अनुदानमा आधारित कर्जा १०.९९ प्रतिशत कर्जा प्रवाह गरेको छ । बैंकले लघु, घरेलु तथा साना उद्यम १५ लाखसम्मका उद्यम, व्यापार व्यावसाय कर्जा अन्तर्गत ३०४ जना ऋणीलाई रु. २४ करोड ५ प्रतिशत व्याज दरमा प्रदान गरिएको छ ।

महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम व्यावसाय, प्राकृतिक प्रकोपवाट प्रभावित क्षेत्रमा ६ जना ऋणीलाई रु. ४ करोड १९ लाख ३ प्रतिशत ब्याज दरमा विशेष पुनरकर्जा प्रदान गरिएको छ । साधारण पुनरकर्जा अन्तर्गत ७२ जना ऋणीलाई रु. ६४ करोड ६ लाख ५ प्रतिशत ब्याजदरमा प्रदान गरिएको छ । समाजसंगै बैंक भन्ने अभियान अन्तर्गत संस्थागत सामाजिक क्षेत्र अन्तर्गत वित्तीय जागरण, दुर्घटना न्यूनीकरण, सरसफाई तथा वातावरण संरक्षण, बृक्षारोपण, शैक्षिक क्षेत्र, स्वास्थ्य उपचार लगायतका क्षेत्रहरुमा बैंकले आफूलाई जोडेको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।