• गृहपृष्ठ
  • ७ महिनासम्म पनि कोरोना बिमाको भुक्तानी भएन, एक हप्ता भित्रै कोरोना जाँचको तथ्यांक उपलब्ध गराउन प्रयोगशालाहरुलाई मन्त्रालयको निर्देशन

७ महिनासम्म पनि कोरोना बिमाको भुक्तानी भएन, एक हप्ता भित्रै कोरोना जाँचको तथ्यांक उपलब्ध गराउन प्रयोगशालाहरुलाई मन्त्रालयको निर्देशन

Feb 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, फागुन ११

कोरोना बिमा गरेकाहरुले दाबी पेश गरेको पाँच महिना बित्दासम्म पनि भुक्तानी नपाएको गुनासो नयाँ होइन । यस्ता कैयन गुनासाहरु रहेपनि बिमा कम्पनीहरु यसलाई समयमै सल्ट्याउन चुकेका छन् ।

यता भुक्तानी हुन नसकेका बेलामा सरकारले भने कैयन दाबीमा प्रयोगशालाको नतिजा आउनु अघिनै दाबी परेको भन्दै प्रयोगशालामा भएका परिक्षणको तथ्यांक पठाउन भनेको छ । सोमबार एक पे्रस बिज्ञप्ती जारी गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

कतिपयको संक्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको भन्दै सात दिनभित्र विमितको सही विवरण पठाउन निर्देशन दिएको छ ।

बिमा समितिका अनुसार अहिलेसम्म करिब दाबी परेका मध्ये ५३ प्रतिशतको मात्रै भुक्तानी भएको छ । अर्थात ४१ हजार २ सय २६ ले भुक्तानी पाएका छन् । जसका लागि ४ अर्ब ५२ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको छ ।

अहिलेसम्म ८० हजारभन्दा बढी बिमा दाबी परेको समिति बताउँछ । जसमध्ये ७७ हजार १ सय २८ वटा दाबीको मात्र कागजात पूरा भएको छ ।

भुक्तानी हुन बाँकी दाबीमध्ये ५ हजार ३ सय १३ वटा स्वीकृतिको प्रक्रियामा रहेका छन् । त्यसबाहेक ९ हजार ७ सय ३४ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) बाट फिर्ता हुन बाँकी रहेका छन् ।

२ हजार ३ सय १९ वटा दाबी ईडीसीडी पठाउने तयारीमा रहेको समितिले जानकारी गराएको छ । ३ हजार ५ सय ७५ वटा दाबी भुक्तानीका लागि बिमा कम्पनीमा पठाइएको, १४ हजार ७ सय ७१ दाबी उपर छानबिन भइरहेको समिति बताउँछ ।

गलत दाबी तथा दोहोरो दाबीका कारण ४ सय ५५ वटा दाबी भुक्तानीयोग्य नरहेको देखिएको छ । कतिपयले एकै कागजातका आधारमा दुईवटा बिमा कम्पनीबाट दाबी गरेका छन् । जसका कारण भुक्तानी गर्न अयोग्य देखिएका हुन् ।

अहिलेसम्म १ लाख ५८ हजार ७७ हजार बिमा योजना मार्फत १७ लाख १६ हजार जनाले कोरोना बिमा गरेका छन् ।  । ती बिमायोजनाको बिक्रीमार्फत झन्डै १ अर्ब (९९ करोड ५ लाख) रुपैयाँ शुल्क संकलन भएको छ ।

सम्झौताअनुसार बिमा कम्पनी, नेपाल पुनर्बिमा र बिमा समितिले लिनुपर्ने दायित्वबापतको रकम पनि भुक्तानी भइसकेको छ । जसअनुसार हालसम्म बिमा कम्पनीहरूले १ अर्ब, पुनर्बिमाले १ अर्ब र बिमा समितिले १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।