• गृहपृष्ठ
  • नेपालमा रेल क्षेत्रमा लगानी गर्ने रसियाको चासो, प्रस्ताव पेश गर्न भन्यो मन्त्रालयले

नेपालमा रेल क्षेत्रमा लगानी गर्ने रसियाको चासो, प्रस्ताव पेश गर्न भन्यो मन्त्रालयले

Feb 21st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, फागुन ९

केरुङ काठमाडौंकोे चिनीयाँ रेल र रक्सौल काठमाडौंको भारतीय रेलको अहिलेसम्म लगानीको मोडालिटी टुंगो लाग्न सकेको छैन । दुई शक्तिशालि छिमेकी देशले नेपालमा रेल ल्याउने कुरा कागजी प्रक्रियामै अलमलीरहेको बेलामा रसियाले पनि नेपालको रेल क्षेत्रमा लगानी गर्ने चासो देखाएको छ ।

विश्वमा दोस्रो ठूलो अर्थतन्त्र भएको उत्तरी सिमानाको छिमेकी राष्ट्र चीनले सितात्सेबाट केरुङ हुँदै काठमाडौंसम्म आउने रेल निर्माणमा चासो देखाएपनि ठोस प्रगति अहिलेसम्म हुन सकेको छैन । गत वर्षको असोजमा चिनीयाँ राष्ट्रपति नेपाल आउँदा यो रेलमार्गको संभाव्यता अध्ययन गर्ने सहमति भएपनि अहिलेसम्म संभाव्यता अध्ययनका लागि चिनीयाँ टोली नेपाल आउन अहिलेसम्म सकेको छैन ।

करिब ७२ किलोमिटर नेपाली भूभागमा बन्ने यो रेलका लागि सुरुमा त चिनीयाँ भुभागमा सिगात्से देखि केरुङसम्म रेल आउनुपर्छ । सन् २०२२ सम्ममा केरुङसम्म रेल ल्याउने चिनको योजना छ । यो रेलमार्गको लागि तत्काल चीनीयाँ टोली आउने संभावना नरहेको सरकारी अधिकारीहरु बताउँछन् ।

यता भारतको रक्सौल, बिरगंज हुँदै काठमाडौंसम्मको १ सय १३ किलोमिटर लामो रेलमार्ग निर्माणका लागि भारतले पनि संभाव्यता अध्ययन अघि बढाएको छ । जसका लागि भारतीय टोली हालैमात्रै काठमाडौं आएको छ । दुई शक्तिशाली छिमेकी राष्ट्रले रेल निर्माणका लागि प्रक्रिया अघि बढाइरहँदा बिश्व अर्थतन्त्रमा ११ औ स्थान रहेको रसियाले पनि नेपालमा रेल निर्माणका लागि चासो देखाएको छ । जसका लागि हालैमात्रै नेपालकालागि रसियाका राजदुतएलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ता मात्रै गरेका छैनन्, रसियन रेलवेको तर्फबाट मन्त्रालयमा आशयपत्र समेत बुझाइएको छ ।

अहिले संयुक्त राष्ट्र संघमा ५स्थायि सदस्य छन् । जसमा चीन र रुस दुबै पर्छन् । तर भारत यसमा अस्थायि सदस्यको रुपमा मात्रै रहेको छ । अर्थात आर्थिक हिसाबमा रुस भारत भन्दा पछि रहेपनि विश्व राजनीतिमा भने अघि रहेको छ । त्यसैले आफ्नो राजनीतिक उपस्थिती देखाउनका लागि पनि रुस नेपालमा आएको छ ।

यति मात्रै होइन, रेलवे निर्माणमा नयाँ प्रविधिको बिकास गर्न नसकेपनि रुस त्यति कमजोर राष्ट्र भने हैन । त्यसैले रेल वे निर्माणमा आवश्यक पर्ने सरसामान बेच्नका लागि पनि रुसले नेपालमा रेल निर्माणमा चासो देखाएको हुनसक्छ ।

चीन र भारत दुबै नेपाली भूभागमा आफ्नो मात्रै रेल होस् भन्ने चाहन्छन् । सुरक्षाका हिसाबले नेपाली भूभागमा चीनिया रेल आउनु भारतका लागि चिन्ताको बिषय हो र चीन स्वंम पनि नेपालमा भारतीय रेल आओस् भन्ने चाहदैन ।

यहि द्वन्दका बिचका कारण नेपालमा रेल निर्माण प्रभावित हुने र आफ्नो उस्थिती भएमा दुबै देशको चिन्ता नरहने भन्दै रुसले नेपालमा रेल निर्माणको चासो देखाएको हो । बिज्ञहरु भने रसिया आर्थिक हिसाबले सन् २००९ यता कै सबैभन्दा कमजोर अवस्थामा रहेको हुनाले रेल निर्माणको जिम्मा लिइहालेपनि बनीहाल्ला भनेर चाहि अहिले नै आश गर्न नसकिने दाबी गर्छन् ।

संयुक्त राष्ट्र संघका ५ स्थायि सदस्य राष्ट्रमा तीन पश्चीमा राष्ट्रहरु अमेरीका, फ्रान्स र बेलायत रहेका छन् । यता पूर्वि क्षेत्रमा राष्ट्रमा चीन र रसिया रहेका छन्, र चीनले रसियालाई आर्थिक रुपमा पनि सहयोग गर्दै आएको छ । त्यसैले चीन सँग नजिक रहेका रसिया चीनकै डिजाइनमा नेपालमा रेल निर्माणमा आएको त होइन भन्ने प्रश्न पनि उब्जीएको छ ।