• गृहपृष्ठ
  • सेयर कर्जामा एनआइसी एसिया बैंक आक्रामक, स्टायण्डर्ड चार्टड र एसबिआईको शुन्य लगानी

सेयर कर्जामा एनआइसी एसिया बैंक आक्रामक, स्टायण्डर्ड चार्टड र एसबिआईको शुन्य लगानी

Feb 19th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,७ फागुन


बजारमा आक्रामक रुपमा लगानी बढाइरहेको एनआइसी एसियाले सबैभन्दा धेरै सेयरमा लगानी गरेको देखिएको छ । तर बिदेशी लगानी रहेका स्टायण्डर्ड चार्टड नेपाल र नेपाल एसबिआई बैंकले भने यो क्षेत्रलाई जोखिमयुक्त ठानेर अहिलेसम्म कुनै लगानी नगरेको देखिएको छ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार बाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढि अर्थात ५ अर्ब २४ करोड एनआइसी एसिया बैंकले यो क्षेत्रमा लगानी गरेको छ । उसको कुल कर्जाको दुई दशमलव तीन प्रतिशत सेयरमा लगानी छ ।

कुल कर्जामा सेयर कर्जाको हिस्सा हेर्ने हो भने चाहि सिटिजन्स बैैंकको ४ प्रतिशत अर्थात सबैभन्दा बढि उच्च लगानी रहेको देखिन्छ ।

बाणिज्य बैंकहरुले अहिलेसम्म ६४ अर्ब, बिकास बैंकले ९ अर्ब र बित्त कम्पनीले २ अर्ब सेयर धितो राखेर सेयर नै खरिदका लागि ऋण प्रदान गरेका छन् । कुल कर्जा ३६ खर्ब ५८ अर्ब मध्ये २ दशमलव शुन्य सात प्रतिशत अहिले सेयर बजारमा प्रवाह भएको छ ।

कुल कर्जाका हिसाबले हेर्ने हो भने बित्त कम्पनीहरुले सबैभन्दा बढि अर्थात ३ दशमलव तीन शुन्य र बिकास बैंकले २ दशमलव छ छ र बाणिज्य बैंकले १ दशमलव नौ आठ प्रतिशत लगानी गरेका छन् ।

गत वर्ष बैंकहरुले सेयर कर्जामा १२ प्रतिशत ब्याज लिन्थे भने अहिले लगानीकर्तालाई फोन गरेरै बोलाएर जम्मा साढे सात प्रतिशतसम्ममा यस्तो कर्जा प्रदान गरेका छन् । त्यसैले असारयता मात्रै पनि बैकहरुको सेयरतर्फ जाने कर्जा ५० प्रतिशतले बढेको छ । गत असारसम्म ५० अर्ब ४१ करोड सेयर धितो राखेर कर्जा प्रदान गरेका बैंक तथा वित्त संस्थाहरुले यो वर्षको सोहि अवधिमा ७५ अर्ब ७० करोड प्रदान गरेका छन् । गत वर्षको पुसमा भने बैंकहरुको यस्तो कर्जा ४५ अर्ब ६७ करोड रहेको थियो ।

अन्य क्षेत्रमा लगानीका लागि ढोका बन्द भएपछि महामारीका बेलामा लगानीकर्ता सेयरबजार तर्फ आकर्षित भएका छन् । लगानीकर्ता मात्रै हैन बैंकहरुको समेत अहिले यहि क्षेत्रमा लगानी केन्द्रित भएको छ । गत वर्ष सम्म खासै प्राथमिकतामा नपर्ने यो क्षेत्रमा बैंकहरुले अहिले फोन गरेर बोलाएरै लगानीकर्तालाई ऋण दिइरहेका छन् । यता गत वर्षको तुलनामा सेयर कर्जाको ब्याजमा पनि कमि आएकाले लगानीकर्ताले बैकंबाटै ऋण लिएरै भएपनि सेयरबजारमा होमिएका छन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीति पनि पुँजीबजारमैत्री छ । जसका कारण पनि बैकहरु यसमा लगानी गर्न हौसिएका हुन् । शेयर धितोराखी प्रदान हुने मार्जिन प्रकृतिको कर्जाको लागि कर्जा सुरक्षण मूल्य अनुपात विद्यमान ६५ प्रतिशतबाट बढाई सम्बन्धित वित्तीय संस्थाले मूल्याङ्कन गरी ७० प्रतिशतसम्म प्रदान गर्ने व्यवस्था मिलाएको छ ।