माइनस १४ डिग्रीमा नियमित पठनपाठन

Jan 31st, 2021

सिमकोट, १८ माघ /रासस

उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ । कोरोना कहरको समयमा समेत पठनपाठन बन्द नभएको लिमी गाउँका दुई विद्यालयमा अत्यधिक चिसो भए पनि पढाइ नरोकिएको छैन । नाम्खा गाउँपालिका–६ को लिमीका दुई विद्यालयमा अत्यधिक चिसोमा विद्यार्थी विद्यालय उपस्थित हुने गरेका छन् ।

विद्यालयमा घाम नलागेको दिन आगो बाल्ने व्यवस्थासमेत गरिएको छ । लिमीका सुनखानी र भृकुटी प्राथमिक विद्यालयमा निजी स्रोतका शिक्षकबाट पठनपाठन भइरहेको छ । हाल लिमीमा चिसो बढेसँगै तापक्रम माइनस १४ डिग्री पुगेको सुनखानी प्राविका शिक्षक कुन्जोक तामाङले बताउनुभयो । यी दुई विद्यालयमा कक्षा ६ सम्म पठनपाठन हुने गर्छ । शिक्षकको पारिश्रमिकको व्यवस्था भने एक अमेरिकी नागरिकले गरेका छन् ।