धवलागिरि प्रतिभा पुरस्कार फुर्लुङलाई

Jan 23rd, 2021

काठमाडौँ, १० माघ

यस वर्षको धवलागिरि प्रतिभा पुरस्कार पर्वत फलेबास घर भई हाल अमेरिकामा रहेका महेश्वर पन्तको “फुर्लुङ” उपन्यासलाई प्रदान गरिने भएको छ ।

पन्तको पहिलो कथाकृति मुन्द्री तेस्रो संस्करणसमेत बजारमा आएको छ । त्यसपछि नबोल्नेहरूनामक कथा संग्रह प्रकाशित भएपछि प्रकाशन भएको तेस्रो कृति उपन्यास फुर्लुङ हो ।
मोदी खोलो र कालीगण्डकीको दोभानमा माछा मारेर र डुंगा तारेर गुजारा गर्ने बोटे ९माझी० परिवार विस्थापनको आख्यान हो फुर्लुङ । स्थान भाषा परम्परा र संस्कार विशेषका कारण यो अब्बल आञ्चलिक आख्यानमा दरिएको छ ।

गरिबको शासन आउने आशामा माओवादी विद्रोहमा सामेल पुस्ताको धुलिसात सपनामाथि यस उपन्यासले करुण व्यंग्य गरेको छ । यस उपन्यास लोकजीवनका अध्ययनका लागि पनि गहकीलो खुराक हुनसक्ने कुरा प्रकाशक सांग्रिला बुक्सका मनी शर्माले बताए ।

त्यसैगरी रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार म्याग्दीका पूर्व सांसदसमेत रहेका लेखक चन्द्रप्रकाश बानिया“को “भौज्याहा” (निबन्ध संग्रह) लाई प्रदान गरिने भएको छ ।

त्यस्तै प्राध्यापक डा।रमेशचन्द्र अधिकारी “जीवन दर्शनको रुपरेखा” कृतिका लागि “जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार” र “गुरु गणेश विष्णु स्मृति पुरस्कार” “पिपिरी” उपन्यास लेखक बागलुङ बलेवाका मिनराज बसन्तलाई प्रदान गर्ने सभाले निर्णय गरेको संस्थापक संरक्षक छोटाले जानकारी दिए ।

ताम्रपत्रसहितको धवलागिरि पुरस्कारको राशी २५ हजार रहेको छ भने अन्य पुरस्कारको राशी पनि सोही रकम बराबरको रहेको र रत्न श्रैष्ठ पुरस्कारको राशी भने ५० हजार रहेको बागलुङका साहित्यकार तथा अन्वेषक प्रेम छोटाले जानकारी दिए ।

प्रस्तुत पुरस्कारहरु आगामी फागुन ७ गते एक विशेष समारोहका बीच प्रदान गरिने बताउँदै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उत्थानमा लागेका साहित्यकारको सम्मानमा पुरस्कार कोषको व्यवस्था गरिएको रत्नश्रेष्ठ पुरस्कारका सदस्य सचिव महेशचन्द्र प्रधानले बताए ।