• गृहपृष्ठ
  • राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

Jan 18th, 2021

काठमाडौ, माघ ५

नेपालको संविधानको धारा २९४ बमोजिम निर्वाचन आयोग, नेपालले गरेका काम कारवाही सहितको वार्षिक प्रतिवेदन २०७६/०७७ राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ ।

प्रतिवेदनमा निर्वाचन आयोगको संक्षिप्त परिचय, साङ्गठानिक एवम् प्रशासकीय कार्य व्यवस्थापन, योजना, अनुगमन, समावेशीकरण तथा वैदेशिक सम्बन्ध, मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा तथा तालिम, सूचना प्रविधि तथा प्रणाली व्यवस्थापन, कानून तथा राजनीतिक दल व्यवस्थापन, वित्तीय स्रोत परिचालन, निर्वाचन सञ्चालन तथा व्यवस्थापन लगायतका विविध विषयहरू समेटिएका छन् ।

आयोगकोे वार्षिक प्रतिवेदन ग्रहण गर्नुहुँदै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्था बमोजिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेकोमा प्रमुख निर्वाचन आयुक्त, आयुक्त, सचिव लगायतका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई धन्यवाद व्यक्त गरे । उक्त अवसरमा निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकोले निर्वाचनमा बढी भन्दा बढी मतदाताहरूको सहभागिता गर्ने गराउनेतर्पm कार्य गर्न, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदान स्थल तथा केन्द्रहरू मतदातामैत्री बनाउन सुझाव दिनुभयो । आयोगले राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्य समेतको निर्वाचन गराउने भएकोले यो महत्वपूर्ण जिम्मेवारीका साथै अवसर पनि रहेको कुरा व्यक्त गरे ।

शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएकोले तोकिएको समयमा नै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन गराउन जरूरी भएको तथा आयोगबाट भइरहेको तयारी सकारात्मक रहेको बताउँदै स्वतन्त्र, निश्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गरे ।

प्रतिवेदन पेश गर्दे प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोगले प्रतिवेदन वर्षमा सम्पादन गरेका कार्यहरूको संक्षिप्त विवरण सम्माननीय राष्ट्रपतिज्यू समक्ष प्रस्तुत गर्नुहुँदै निर्वाचन सम्बन्धी नीति एवम् कानूनहरूको तर्जुमा, राजनीतिक दल दर्ता र सो को व्यवस्थापन, मतदाता नामावली संकलन तथा अद्यावधिकको अवस्था, मतदाताको संख्यात्मक विवरण, सम्वत् २०७६ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको उपनिर्वाचन, रिक्त भएका राट्रिय सभा सदस्यको निर्वाचन लगायतका विषयमा जानकारी गराए । साथै उहाँले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७८ का सन्दर्भमा मतदाता नामावली अद्यावधिक (दावी विरोध) कार्यक्रम तथा मतदान स्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रम आयोगबाट स्वीकृत भई राजनीतिक दलहरूसँग परामर्श वैठक तथा जिल्ला निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि आवश्यक तालिम समेत सम्पन्न भएको जानकारी गराए । निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, निर्वाचन व्यवस्थापनमा मानव संशाधन नीति, प्रतिनिधि सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक निर्देशिका, वजेट तथा जनशक्ति प्रक्षेपण, मतदाता शिक्षा सामग्री तयारी, तालिम सामग्री तयारी, प्रदेश र स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्ति तोक्ने लगायतका निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका सम्पूर्ण कार्यहरू योजनाबद्ध रूपमा अगाडी बढिरहेको जानकारी गराए ।

सम्माननीय राष्ट्रपति समक्ष आयोगको प्रतिवेदन पेश गर्ने उक्त कार्यक्रममा माननीय निर्वाचन आयुक्तहरू नरेन्द्र दाहाल र इश्वरी प्रसाद पौड्याल, आयोगका सचिव लगायत कर्मचारीहरू तथा राष्ट्रपति कार्यालयका सचिव, सम्माननीय राष्ट्रपतिका सल्लाहकार, विज्ञहरू, स्वकीय सचिव लगायतको उपस्थिति रहेको थियो ।