• गृहपृष्ठ
  • बैदेशिक रोजगारीमा जानेहरु घटे , रेमिट्यान्समा ११ प्रतिशतको बृद्धि

बैदेशिक रोजगारीमा जानेहरु घटे , रेमिट्यान्समा ११ प्रतिशतको बृद्धि

Jan 15th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, माघ १

बैदेशिक रोजगारीमा जानेहरुको संख्यामा कमि आएपनि रेमिट्यान्स भने बढेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भई ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो ।

तर मंसिर मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो ।

यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो ।

तर यता खुद प्रत्यक्ष वैदेशिक लगानी ३१.५ प्रतिशतले कमी आई ४ अर्ब ५० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रहेको राष्ट्र बैंक बताउँछ ।

मंसिर मसान्तसम्म शोधनान्तर स्थिति १० खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले मात्रै बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ५९ लाखले बचतमा रहेको शोधनान्तर स्थिति मंसिर मसान्तसम्म ८९ करोड ६५ लाखले बचतमा रहेको छ ।

यसरी सोधानान्तर स्थिती सुधार आउदा यसले समग्र विदेशी मुद्रा भने बढाएको छ । २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.२ प्रतिशतले वृद्धि भई २०७७ मंसिर मसान्तमा १४ खर्ब ७४ अर्ब ३४ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ मंसिर मसान्तमा ७.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ५४ करोड पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.४ महिनाको वस्तु आयात र १३.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।