• गृहपृष्ठ
  • एमसीसीबारे वारपार नगरे दैनिक अरबौंको विजुली खेर जान्छः टोपबहादुर रायमाझी

एमसीसीबारे वारपार नगरे दैनिक अरबौंको विजुली खेर जान्छः टोपबहादुर रायमाझी

Jan 13th, 2021

काठमाडौ, पुुस २९

उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले एमसीसीलाई खारेज गर्ने कि लागू गर्ने तत्काल निर्णय लिएर बढ्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्बल नेपालको साक्षात्कारमा बोल्दै एमसीसीमा अलमल हुँदा दैनिक अरबौं रुपैयाँ बराबरको विद्युत खेर जाने अवस्था आएको भन्दै तत्काल टुंगो लगाउनुपर्ने बताएकाहुन् ।

‘एमसीसीलाई वारपारमा लैजाऔं,’ मन्त्री रायमाझीले भने,‘हामी एक दिन त के एक छिन पनि पर्खेर बस्ने अवस्थामा छैनौं, एमसीसीले ट्रान्समिसन लाइनमा लगानी गर्ने भनेको छ, नबन्दा भदौबाट ५ सय मेगावाट विद्युत खेर जाने अवस्था आइसक्यो ।’ अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अझै टुंगोमा नपुग्दा ऊर्जामन्त्री रायमाझीको पछिल्लो भनाई आएको हो । रायमाझीले एमसीसीले ट्रान्समिसनमा लगानी गर्ने भन्दै गर्दा झुण्डिएर अनिर्णयमा रहेर बसिरहेको बताए । उनले एमसीसीलाई लागू गर्न जोड दिए । उनले भने,‘ हुबहु लागू गर्नुपर्छ भन्ने होइन, एमसीसीको कुन कुन बुँदामा परिवर्तन गर्ने भन्ने विषयमा बसेर टुंगो लगाऔं ।’

रायमाझीले प्रधानमन्त्री केपी ओलीलाई पुष्पकमल दाहाल र माधवकुमार नेपालले धोका दिएका आरोप लगाए । उनले ओलीलाई विगतमा पार्टी एकता हुँदा पहिलो अध्यक्ष बनाएको, प्रधानमन्त्री बनाएको र संसदीय दलको नेता समेत बनाएको स्मरण गर्दै रायमाझीले अहिले ओलीलाई धोका दिएको आरोप लगाए । “पहिलो सर्वसम्मत गर्ने, अहिले कोकोलाई केके इच्छा लाग्छ, मागेर पाउने कुरा हो ?” उनले प्रश्न गरे । प्रचण्ड माधव समुहले पार्टी छोडेर गएको आरोप लगाउँदै अहिले हामी यहाँ छौँ भनेर सडकमा देखापरेको भन्दै रायमाझीले व्यङ्ग्य समेत गरे ।

रायमाझीले आफू कुनै पनि खेमामा नरहेको बताउँदै आफै सफल नेता भएको बताए । आफू अवसरवादी नेता नभएको भन्दै उनले जनमुक्ति सेना र गुरिल्ला बनाउन विगतमा महत्वपूर्ण भूमिका खेलेको बताए । “अवसरवादीका कुरा गर्ने ? को अवसरवादी? कसैले हिम्मत गरोस्, आधार पेश गरोस् न ?” उनले भने । आफ्ना सामुन्ने आएर अवसरवादी भन्न चुनौती दिए । जनयुद्धपछि शान्ति प्रक्रियामा आएपछि डा. बाबुराम भट्टराई देशका लागि आवश्यक व्यक्ति भनेर काँध थापेको तर माओवादी केन्द्र छोडेपछि आफूले साथ दिन नसकेको उनले बताए ।

उनले नेपाल भारतबीचको सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भारत भ्रमण फलदायी हुने बताए । मन्त्री ज्ञवालीको भ्रमणका क्रममा १९५० को सन्धीका विषयमा छलफल गर्ने एजेण्डा तय भएको उनको दावी छ । उर्जा सम्बन्धी एजेण्डामा पनि छलफल हुने रायमाझीले बताए ।४ सय केबीको ट्रान्समिसन लाइनको विषयमा छलफल हुने बताउँदै उनले उक्त लाइनबाट नेपालको विद्युत भारत र भारतको विद्युत नेपाल ल्याउनुपरेमा सहज हुने बताए । विद्यतु व्यापार सम्बन्धमा पनि छलफल हुने उनको भनाई छ । त्यसैगरी, माथिल्लो कर्णालीका विषयमा पनि दुई पक्षीय छलफल हुने छ ।

नेपालमा अहिले विद्युतको अभाव नभएको भन्दै उत्पादन बढेकाले खपत कसरी गर्ने भन्ने समस्या रहेको मन्त्री रायमाझीले बताए । उनले लोडसेडिङ्ग नभएको स्पष्ट पारे । बेला बेलामावत्ती जाने समस्याबारे सोधेको प्रश्नमा उनले,‘गतवर्षभन्दा यो वर्ष कम विद्युत गएको छ ।’ तपाई मन्त्री बन्नासाथ किन विजुली आउने जाने भइरहेको छ भन्ने पत्रकारको प्रश्नमा मन्त्री रायमाझीले भार वितरण केन्द्रमा भएको समस्याले विद्युत आपूर्तिमा समस्या आएको बताए । तर, गतवर्षभन्दा कम पटक विजुली गएको स्पष्ट पारे । उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै विद्युत आपूर्तिको तथ्याङ्क नै पेश गरेका थिए ।

नेपाल लोडसेडिङमुक्त हुनुमा अघिल्लो पटक आफू मन्त्री हुँदाबनाएको मास्टर प्लानले भुमिका खेलेको रायमाझीको दावी छ । मास्टर प्लान बनाउँदा त्यसबेला कुलमान घिसिङलाई पनि समितिमा समेटेर बनाएको उनले जानकारी दिए । यस विषयमा स्वयम् घिसिङले पनि स्वीकारेको उनले बताए ।

आफूले नै विद्युत प्राधिकरणको प्रमुखका रुपमा घिसिङलाई ल्याउने पहल सुरु गरेको रायमाझीले बताए । “त्यसबेला मुकेश काफ्लेलाई हटाएर घिसिङलाई ल्याउने योजना मेरो हो । मैले नै वातावरण सृजना गरेको हो । तर सरकार परिवर्तन भयो । जसले गर्दा मेरो पालामा हुन पाएन । तर मेरै योजना हो ।”उनले भने ।

अहिलेको आफ्नो चुनौति धेरै भएको विजुली कसरी खपत गर्ने भन्ने रहेको उनको भनाई छ । आगामी भदौसम्म त ५ सय मेघावाट विजुली धेरै भएर खेर जाने अवस्था रहेको उजले जानकारी दिए ।