• गृहपृष्ठ
  • बढ्न थाल्यो बैंकको लगानी ,तरपनि बैंकिङ प्रणालीमा अझै २ खर्ब ३० अर्ब तरलता

बढ्न थाल्यो बैंकको लगानी ,तरपनि बैंकिङ प्रणालीमा अझै २ खर्ब ३० अर्ब तरलता

Jan 11th, 2021

आधारभुमी संवाददाता

काठमाडौं, पुष २७

बजारमा चहलपहल बढेसँगै आर्थिक क्रियाकलापमा पनि सुधार आएको छ । लामो समयसम्म लगानी नगरि बसेका लगानीकर्ताहरुले अब बैंकबाट ऋण लिएर लगानी बिस्तार गर्न थालेका छन् । कर्जा बिस्तार भएपनि निक्षेप बृद्धिमा भने कमि भने आएको छैन । मंसिरमा दैनिक १ अर्ब ८० करोड रकम दैनिक निक्षेप बढेकामा अहिले दैनिक निक्षेप २ अर्ब ४ करोडको हाराहारीमा छ ।

बैकिङ क्षेत्रमा अहिले २ खर्ब ३० अर्ब बराबरको रकम अधिक तरलताको रुपमा रहेको छ । जसमध्ये झन्डै ८० अर्ब रकम राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणबाट ८० अर्ब बराबरको रकम प्रशोचन गरेर राखेको छ ।

यो वर्षको कात्तिक मसान्तसम्म जम्मा १ सय ५६ अर्ब कर्जा प्रवाह भएकोमा पुषको २२ गतेसम्ममा यो बढेर ३ सय १९ अर्ब पुगेको राष्ट्र बैंक बताउँछ । महामारीका कारण लामो समय रोकिएको लगानी मंसिर लागेपछि भने दैनिक ३ अर्बको हाराहारीले बढेको छ । बिशेषगरि ब्यापार, उद्योग तथा सेयर जस्ता क्षेत्रमा लगानी बढेको बैंकहरुले बताएका छन् । तर महामारीका कारण लामो समय कर्जा प्रवाह हुन नसकेकाले अहिले पनि वित्तीय क्षेत्रमा झन्डै २ खर्ब ३० अर्ब बराबरको रकम अधिक तरलताको रुपमा रहेको छ ।

महामारीका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा हुँदा असोज महिनासम्म कर्जाको तुलनामा निक्षेप बृद्धि उच्च थियो । असोज महिनामा त कर्जा थपिने भन्दा झनै फिर्ता नै आएको देखिएको थियो । गत कात्तिक सम्म पनि कर्जाको तुलनामा निक्षेपको बृद्धि धेरै देखिएको थियो । तर मंसिर लागेसँगै बिस्तारै बढ्न थालेको कर्जा अहिले दैनिक ३ अर्बको हाराहारीमा गएको बाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघले जनाएको छ ।

मंसिर महिनाको तुलनामा पुषमा दैनिक ६७ करोड रकम बढि कर्जा प्रवाह भएको देखिन्छ । मंसिर महिनामा दैनिक २ अर्ब ४ करोड कर्जा प्रवाह भएकोमा अहिले २ अर्ब ७१ करोड कर्जा प्रवाह भएको छ । पुस १७ गतेसम्ममा बाणिज्य बैंकहरुले कुल ३१ खर्ब ६१ अर्ब लगानी गरेका छन् । पछिल्लो समयमा उत्पादनमुलक उद्योगधन्दा तथा कलकारकाखानामा लगानी बढेको बैंकर्स बताउँछन् । मंसिर महिनामा सेयर, घरजग्गा तथा ब्यापारमा केन्द्रित भएको कर्जा अहिले औषधि तथा काठका उद्योगमा केन्द्रित भएको बैंकर्सको भनाई छ ।

पुष मसान्तसम्मको तथ्यांक केलाउँदा यो वर्ष बैंक तथा वित्तीय सस्थाको निक्षेप ३ खर्ब १९ अर्ब र कर्जा ३ खर्ब १६ अर्बले बढेको देखिन्छ । यसरी हेर्दा कात्तिक पछि बिस्तारै कर्जाको माग बढेको देखिएको छ।