• गृहपृष्ठ
  • प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट दर्ज्यानी चिन्ह सुशोभन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट दर्ज्यानी चिन्ह सुशोभन

Jan 7th, 2021

काठमाडौं, २३ पुस

नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उहाँहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरुमा गणेश बहादुर ऐर, पुरुषोत्तम कंडेल, राजेश कुमार लाल कर्ण, डा। देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्द राज आचार्य हुनुहुन्छ ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति हुनुभएका प्रहरी नायव महानिरीक्षकहरुलाई बधाई दिँदै पदोन्नतिसँगै नेतृत्वदायी आचरण पनि फेरिनुपर्ने र प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिनुभयो ।

उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेलले प्रचलित कानुन र संगठनको नीति निर्देशन अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।