• गृहपृष्ठ
  • भूकम्प र नाकाबन्दी पछि महामारीमा चम्क्यो, अन्य लगानीका ढोका बन्द भएपछि सेयरबजारमा ओइरियो लगानी

भूकम्प र नाकाबन्दी पछि महामारीमा चम्क्यो, अन्य लगानीका ढोका बन्द भएपछि सेयरबजारमा ओइरियो लगानी

Nov 27th, 2020

आधारभूमि संवाददाता
काठमाडौ, मंसिर १२

२०७२ सालको भूकम्पले थलिएकै बेलामा भारतले नाकाबन्दी गरेको थियो । जसका कारण अर्थतन्त्र जर्जर अवस्थामा पुगेको थियो । तर , त्यतिबेला सेयरजारले भने रेकर्ड कायम गरेको थियो ।

२०७३ साउन १२ गते नेप्से परिसूचक १८ सय ८१ कायम भएको थियो । जुन त्यबितेलाको उच्च अंक हो । जुन रेकर्ड बिहिबार मात्रै तोडिएको छ । अहिले देश महामारीमा फसेको छ । अर्थतन्त्र हेर्दा उत्साह गर्नुपर्ने कुनै ठाउ नै छैन । तर, लगानीकर्ता भने सेयरबजारमा झुमिएका छन् ।

भूकम्प र नाकाबन्दी पछि अर्थतन्त्रले पुरानो लय लिन थाल्यो । ६ प्रतिशत माथिको आर्थिक बृद्धिमा देश प्रवेश गर्दा भने सेयरबजार परिसुचक नेप्से २०७५ फागुन २१ गते १ हजार ९८ सय अंकमा झरेको थियो । जुन फेरी महामारी लागेपछि उकालो लागेर अहिलेसम्मकै रेकर्ड ब्रेक गरेको छ ।

अर्थतन्त्र अहिले डामाडोल अवस्थामा छ । कैयन उद्योगधन्दा महामारीका कारण धरासायी भएका बेलामा तीनै कम्पनीमा भने सेयरलगानीकर्ता ओइरिएका छन् । वास्तवमा कम्पनीहरुको नाफामा बृद्धि हुने देखेर भन्दा पनि अन्य क्षेत्रमा लगानीका ढोका बन्द भएपछि लगानीकर्ता यता सोजिएका छन् ।

बैंकमा अहिले अधिक तरलताको स्थिती छ। बैंकमा कर्जाको तुलनामा निक्षेप थुप्रिएको छ । बैंकहरुले लगानी बिस्तारका लागि मरिहत्ते गर्दा पनि कर्जा लाने ब्यक्तिहरु पाउन सकेका छैनन् । त्यसैले अन्य क्षेत्रमा लगानीको संभावना नभएपछि बैंकहरुले सेयरलगानीकर्तालाई अहिले फोन गरेरै ऋण लिन आउन भनिरहेका छन् । जबकी यसअघि सेयरलगानीकर्ता ऋणको हिसाबमा प्राथमिकतामा नै पर्दैनथे ।

कोरोना महामारीले लगानी विस्तार हुन नसकेको असर बैंकको आम्दानीमा परिसकेको छ । २७ मध्ये १९ बैंकको मुनाफा चालु आर्थिक वर्ष पहिलो त्रैमासमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

लगानीयोग्य १ खर्ब ७० अर्ब रुपैयाँ बैंकमै थुप्रिएको छ । तर लगानीकर्ताले भने बैंकको सेयर धमाधम किनेका छन् । जबकी हालैमात्रै सार्वजनिक भएका वित्तीय रिपोर्टले बैंक नोक्सानीमा जाने निश्चीत छ ।

त्यस्तै उद्योगी व्यवसायी यतिखेर लगानी बढाउनेभन्दा व्यवसाय जागोउने चिन्तामा छन् । औद्योगिक उत्पादनको बिक्री घटेको छ भने जलविद्युत लगायत पूर्वाधार क्षेत्रको काम प्रभावित छ ।

होटल त सामान्य अवस्थामा कहिले फर्किन्छन् भन्ने नै टुंगो छैन । यसका बाबजुद होटल, जलविद्युत र उत्पादनमूलक उद्योग, बीमा, बैंक लगायत सबैजसो सूचीकृत कम्पनीको सेयर मूल्य भने क्रमिक रुपमा बढिरहेको छ । मूल्य बढेकाले सेयर बजार परिसूचक अहिलेसम्मकै उच्च अंकमा पुगेको छ भने कारोबार रकम पनि दिनदिनै बढिरहेको छ ।