• गृहपृष्ठ
  • पुँजी र नाफा कम भएका कम्पनीको सेयर मूल्य आकासियो , सामान्य लगानीकर्ताले सजग भएर लगानी गर्नुपर्ने

पुँजी र नाफा कम भएका कम्पनीको सेयर मूल्य आकासियो , सामान्य लगानीकर्ताले सजग भएर लगानी गर्नुपर्ने

Nov 20th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, मंसिर ५

सेयरबजारमा अहिले ठूलो पुँजी भएका कम्पनीहरुको भन्दा पनि साना खालका कम्पनीमा लगानीकर्ताको बिशेष रुचि देखिएको छ । अहिलेसम्म लाभांस नै नदिएका कम्पनीहरुको मूल्य समेत अहिले भारी बृद्धि भएको छ ।

बिशाल बजार कम्पनी जसका लगानीकर्ताले आज एकै दिन प्रतिकित्ता ३ सय रुपैयाँ नाफा कमाए । बुधबार प्रतिकित्ता ३ हजार २७ रुपैयाँमा कारोबार भएकोमा बिहिबार बजार बन्द हुँदा यसको
मूल्य ३ हजार ३ सय २९ रुपैयाँ कायम भयो । ५ करोड पुँजी भएको यो कम्पनिले अहिलेसम्म कुनै लाभांस दिएको छैन । तरपनि यसको मूल्यमा भने उछाल आएको छ ।

बिहिबार भएको कारोबारमा कमाउनेको सूचिमा दोस्रो स्थानमा रहेको तारागाउँ रिजेन्सी होटल जसको पनि एकैदिन प्रतिकित्ता २८ रुपैयाँ मूल्य बढेको छ । जबकी सञ्चालनमा आएको लामो समयसम्म नाफामा जान नसकेको भनेर देखाइरहने तारागाउँ रिजेन्सी होटलले बिगत ३ वर्ष यता देखि १२ प्रतिशत मात्रै लाभांस दिन सकेको छ ।

यसबाहेक सोल्टी र ओरेन्टल होटलको पनि सेयर मूल्य बढेको छ । जबकी सबै होटलको बित्तीय विवरण हेर्ने हो भने उनिहरु घाटामा गएका छन् । र महामारी अघिको नाफा कमाउन अझै तीन वर्ष लाग्ने स्वयं व्वयसायीको आकलन छ । होटलको मात्रै होइन, साल्ट ट्रेडिङ हिमालय डिस्टीलरी, नागरिक लगानी कोष र नेपाल पुनर्बिमा कम्पनीको मूल्य पनि अस्वभाविक रुपमा बढेको छ । जसमा लगानीकर्ताले अलि सजग भएर लगानी गर्नुपर्ने देखिन्छ ।

यि साना पुँजी भएका र नाफा कम भएका कम्पनीहरुमा पारदर्शिताको पनि अभाव छ । र ठूलो सेयर पनि निश्चीत ब्यक्तिहरुको हातमा छ । अस्वाभाविक बृद्धि गराउने र आफ्नो लगानी सुरक्षित गरेर साना लगानीकर्ता फस्ने गरेको तितो बिगत साना लगानीकर्ताले भूल्नु हुँदैन ।

नाफा दिन नसकेपनि जलविद्युुतको सेयरमा पनि अस्वाभाविक बृद्धि देखिन्छ ।सेयरबजारमा ४३ प्रतिशत हिस्सा ओगटेको बैंकको परिसुचक भने दुई दशमलव सात एक अंकले मात्रै बढेको छ ।

सेयरबजार लहडमा लगानी गर्ने ठाउँ होइन । जहाँ कम्पनीको बित्तीय विवरण बिश्लेषण गरि त्यसले आगामी दिनमा के कति लाभांस दिन सक्छ र कम्पनीमा आर्थिक पारदर्शिता छ छैन र त्यसका सञ्चालकहरु समेत कस्तो पृष्ठभूभिका ब्यक्तिहरु छन् भनेर हेर्नुपर्छ ।

तर अहिले लगानीकर्ताहरुले लहडका भरमा लगानी गरेका छन् । यस्तो बेलामा चनाखो भएर लगानी गर्न नसक्ने हो भने लगानी घाटामा जान पनि सक्छ । त्यसैले कम्पनीले दिने लाभांसको आधारमा लगानी गर्नु उचित हुन्छ ताकि पछि लगानी गरेर पछुताउनु नपरोस् ।