एम्बुलेन्समा जिपिएस जडान गरिने

Nov 1st, 2020

मकवानपुर, १६ कात्तिक /रासस

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको एम्बुलेन्स सञ्चालक समिति र सरोकार पक्षको बैठकले एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दिनुभएको जानकारीअनुसार सर्वसाधारण यात्रुलाई दृष्टिगत गर्दै जिल्लामा रहेका एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने भएको हो ।

सो प्रविधिको प्रयोगपछि एम्बुलेन्स कहाँ र कुन अवस्थामा छ भन्ने विषयमा सजिलै जानकारी प्राप्त हुने प्रजिअ रिजालले राससलाई जानकारी दिनुभयो । जिपिएस जडानपश्चात् एम्बुलेन्सका चालकले यात्रु बोकेको वा गैरकानूनी काम गरेको अवस्थामा थाहा लाग्ने भएकाले उक्त निर्णय गरिएको प्रजिअ रिजालले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा मकवानपुरमा ३५ वटा एम्बुलेन्समा सो प्रविधि जडान गरिने र आवश्यकताअनुसार थप एम्बुलेन्सहरुमा पनि जडान गरिने छ ।