• गृहपृष्ठ
  • ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन एकीकृत जडीबुटी खेती

ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन एकीकृत जडीबुटी खेती

Oct 17th, 2020

गलेश्वर, १ कात्तिक /रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बाँझिएको जमीनको सदुपयोग र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याई ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले एकीकृत जडीबुटी खेती गर्ने भएको छ ।

केही दिनअघि जडीबुटीविज्ञ चन्द्रमणि सापकोटाको नेतृत्वमा आएको अध्ययन तथा निरीक्षण टोलीले गाउँपालिकाका सबैजसो क्षेत्रमा कुनै न कुनै जातको जडीबुटी खेती गर्न सकिने सुझाव दिएपछि यहाँका बाँझिएको जमीनमा एकिकृत जडीबुटी खेती गर्न लागिएको हो ।

“जडीबुटीको व्यावसायिक खेतीमार्फत समाजको गरीबी र बेरोजगारी हटाउन सकिन्छ”, विज्ञ सापकोटाले भन्नुभयो, “यहाँको सबैजसो ठाउँमा कुनै न कुनै जातको जडीबुटी खेतीको सम्भावना छ, गाउँपालिकाले नै यसमा चासो देखाएपछि अहिले स्थानीयवासी पनि उत्साहित भएको छ ।” उहाँका अनुसार एकीकृत जडीबुटी खेतीको माध्यमले ग्रामीण अर्थतन्त्रको सबलीकरणमा टेवा पुग्ने छ । गाउँपालिका क्षेत्रमा टिमूर, सिल्टिमूर, सतुवा, विष, बिखमा, निर्बिसीजस्ता विभिन्न जातका जडीबुटीको व्यावसायिक खेती गर्न सकिने उहाँको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले जडीबुटीको व्यावसायिक उत्पादनमार्फत ग्रामीण अर्थतन्त्रलाई सबल बनाउने सकिने भन्दै यसका लागि गाउँपालिकाले विशेष योजना तथा कार्यक्रम ल्याउने गृहकार्यमा लागेको बताउनुभयो । “जडीबुटीको व्यावसायिक खेतीबाट युवालाई गाउँघरमै रोजगारी उपलब्ध गराउन खोजेको छु”, उहाँले भन्नुभयो, “ गाउँपालिकाले एकीकृत जडीबुटी खेती कार्यक्रम सबै क्षेत्रमा विस्तार गर्दै लगिनेछ ।

सडक सञ्जालमा गाउँ जोडिएपछि स्थानीयवासीमा खुशीयाली

तीनवर्ष अघिसम्म सदरमुकाम बेनी आउन तीनदिन लाग्ने म्याग्दीका दुर्गम गाउँका बासिन्दाहरु अहिले विहान घरबाट निस्केर बेनी आइ साँझ आफ्नै गाउँमा पुग्न सक्ने भएपछि दङ्ग परेका छन् ।

हिमाली जिल्ला म्याग्दीका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालसँग जोडिएपछि यातायातका साधन सञ्चालनमा आउन थालेकाले स्थानीयवासी विकास र सुविधा दुबैको अनुभूति गर्न थालेका हुन् ।

स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले आ–आफ्ना वडाहरुमा मोटरबाटो पु¥याउने कामलाई नै मुख्य ठानेर बजेट विनियोजन गरेपछि दुर्गमका बासिन्दाको दैनिकी सहज बनेको हो । गाउँ सडक सञ्जालसँग जोडिएपछि स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन पनि निकै सहज भएको छ ।

एक नगरपालिकासहित छ स्थानीय तह रहेको म्याग्दीका सबै स्थानीय तहमा सडक सञ्जालको पहुँच पुगेको छ । धौलागिरि र रघुगङ्गा गाउँपालिकाका एक÷दुई वडामा मात्र यातायातका साधन पुगिसकेका छैनन् । पछिल्लो समय म्याग्दीका अधिकांश ग्रामीण क्षेत्रमा यातायातको सुुविधा पुगेपछि स्थानीयबासी उत्साहित बनेका छन् । सडक सुविधा नहुँदा कतै जानुपरे पनि घन्टौँको बाटो सकी–नसकी हिड्नुपर्ने बाध्यता थियो तर अहिले अधिकांश गाउँमा सडक सुविधा पुगेपछि गाउँ पनि रमणीय बन्दै गएका छन् ।

म्याग्दी सदरमुकामदेखि करिब ५० किलोमिटर पश्चिमस्थित मालिका गाउँपालिका–७ रुमका बलबहादुर विकले सडक पुगेपछि स्थानीय उत्पादनले सजिलै बजार पाउन थालेको बताउनुभयो । “विगतमा सडकको सुविधा नहुँदा कृषि उत्पादन बारीमै कुहेर सकिन्थ्यो वा छरछिमेकमा बाँड्दाबाड्दै रित्तिन्थ्यो”, उहाँले भन्नुभयो, “गाउँसम्म सडक पुगेर अहिले उत्पादनले मूल्य पाउन थालेपछि यहाँका किसान मख्ख परेका छन् ।” त्यस्तै सडकको सुविधा भएपछि स्वास्थ्य र शिक्षासँगको पहुँच सहज रुपमा बढ्दै गएको धौलागिरि गाउँपालिका–७ का वडाध्यक्ष कलानिधि शर्माले बताउनुभयो ।

सडकको सुविधा भएपछि यहाँका पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्दै गएको छ । ग्रामीण क्षेत्रमा सडकका साथै अन्य आधारभूत विकासका पूर्वाधार खडा गर्न सके बढ्दै गएको शहरमोह केही हदसम्म घट्दै जाने रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष जीवन मल्लको भनाइ छ । गाउँगाउँमा यातायातका साधनहरु गुड्न थालेपछि स्थानीयवासीको जीवनयापन सहज हुनुका साथै गाउँको मुहार पनि फेरिएको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडाध्यक्ष गमबहादुर फगामीले बताउनुभयो । गाउँगाउँमा विकासका पूर्वाधारहरु निर्माण भएका छन् भने स्थानीयवासीको चेतनास्तरमा समेत परिवर्तन आएको जनप्रतिनिधिहरुले बताएका छन् ।