नेसन्स लिगमा जर्मनीको पहिलो जित

Oct 11th, 2020

आधारभूमि संवाददाता
काठमाडौं, २५ असोज

युइएफए नेसन्स लिगमा जर्मनीले युक्रेनलाई पराजित गरेको छ।शनिबार राति भएको खेलमा जर्मनीले युक्रेनलाई २-१ गोलले पराजित गरेको हो।

जर्मनीलाई जित दिलाउन मथियस गिन्टरले र लियोन गोरेट्ज़काले एक/एक गोल गरे भने युक्रेनको रुस्लान मलिनोस्किभले एक गोल फर्काए ।

खेलको २० औँ मिनेटमा मथियस गिन्टरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ४९ औं मिनेटमा लियोन गोरेट्ज़काले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ७६ औं मिनेटमा युक्रेनका रुस्लान मलिनोस्किभले पेनाल्टीमा एक गोल फर्काए । त्यसपछि कुनै गोल हुन सकेन र जर्मनीले युइएफए नेसन्स लिगमा पहिलो जित निकालेका हो ।जर्मनीले समूह चरणको सुरुवाती दुई खेलमा बराबरी खेल्दै अंक बाँडेको थियो ।

दुई वर्षअघि नेसन्स लिगमा जर्मनीले एक पनि खेल जित्न सकेको थिएन ।