• गृहपृष्ठ
  • घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

Oct 5th, 2020

आधारभूमि संवाददाता
काठमाडौ, असोज १९


इंग्लिस प्रिमियर लिग फुटबलमा १० खेलाडीमा सिमित म्यान्चेस्टर युनाइेडले टोटनह्याम हटस्पर्ससँग आफ्नै घरेलु मैदानमा लज्जास्पद हार ब्यहोरेको छ ।आइतबार राति भएको खेलमा हटस्पर्ससँग युनाइटेड आफ्नै घरेलु मैदानमा १–६ गोलअन्तरले पराजित भएको हो ।

टोटनह्यामलाई जित दिलाउन सन ह्युङ मिन र ह्यारी केनले दुई दुई गोल गरे भने टानगाइ एनडोमबेले र सर्जी अरियरले एक एक गोल गरे । युनाइेडका ब्रुनो फर्नान्डेसले एक गोल गरेका थिए ।

खेलमा पहिलो अग्रता युनाइेडले लिएको थियो ।खेलको दोस्रो मिनेटमै ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।तर, खेलको चौंथो मिनेटमा टानगुए एनडोमबेलेले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको ३ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए ।

खेलको २८ मिनेटमा मार्सियल रातो कार्ड खाँदै मैदान बाहिरिएपछि युनाइेड १० खेलाडीमा सिमित बनेको थियो ।

खेलको २० औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै टोलीलाई ३–१ ले अघि बढाए। ३७ औं मिनेटमा सन ह्युङ मिनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई पहिलो हाफमा ४-१ को अग्रता दिलाए ।

दोस्रो हाफको ५१ औं मिनेटमा सर्जी अरियरले टोटेनहमलाई ५-१ को अग्रता दिलाए ।खेलको ७९ औं मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सानदार जित दिलाए ।

जितसँगै टोटेनहमले ४ खेलबाट ७ अंक जोडेको छ र तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।पराजित युनाइेडको ३ खेलबाट ३ अंक छ र तालिकाको १६ औं स्थानमा रहेको छ ।