• गृहपृष्ठ
  • बार्सिलोनाको जितसँगै स्पेनिस ला लिगामा अन्सु फातीको १० गोल पूरा

बार्सिलोनाको जितसँगै स्पेनिस ला लिगामा अन्सु फातीको १० गोल पूरा

Oct 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असोज १६

स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार दोस्रो जित निकालेको छ ।बिहिबार राति सेल्टाको मैदानमा भएको खेलमा बार्सिलोनाले सेल्टा डी भिगोलाई ३–० गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनालाई जित दिलाउन अन्सु फाती र सर्जियो रोबर्टोले एक/एक गोल गरे भने एक गोल आत्मघाती पाएको थियोे ।

खेलको ११ औँ मिनेटमा अन्सु फातीले काउटिन्होको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।सो गोलसँगै फरवार्ड फाती बार्साका लागि ला लिगामा १० गोल पुरा गर्ने दोस्रो १७ वर्षीय खेलाडी बनेका छन् ।फातीले यस सिजनको पहिलो खेलमा बार्सिलोनाका लागि दुई गोल गरेका थिए भने पछिल्लो दुई खेलमा फातीले तीन गोेल गरेका छन् । फातीअघि बोजानले १७ वर्षको उमेरमा बार्साका लागि १० गोल गरेका थिए । 

४२ मिनेटमा बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । लेङलेट ४२ मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

दोस्रो हाफको ५१औँ मिनेटमा सेल्टा भिगोका ओलाजाले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियोे ।दोस्रो हाफको इन्जुरी समयमा सेर्गी रोबर्टोले गोल गर्दै बार्सिलोनाको जीत सुनिश्चित गरे ।

जितसँगै बार्सिलोनाले दुई खेलबाट ६ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित सेल्टा ५ अंक जोडेर ११औं स्थानमा रहेको छ ।