रियल म्याड्रिडको संघर्षपूर्ण जित

Sep 27th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असोज ११

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल म्याड्रिडले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई ३–२ ले पराजित गरेको हो ।

रियल म्याड्रिडलाई जित दिलाउन फेडेरिको भेल्भेर्ड र सर्जियो रामोसले एक एक गोल गरे भने एक गोल आत्मघाती पाएको थियोे ।बेटिसका अलिसा मान्डी र विलियम कालाभारोले एक गोल गरेका थिए ।

खेलमा पहिलो अग्रता रियल म्याड्रिडलेनै लिएको थियो। खेलको १४ औँ मिनेटमा रियल म्याड्रिडका फेडेरिको भेल्भेर्डले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ३५ औं मिनेटमा बेटिसका अलिसा मान्डीले गोल गर्दै खेल बराबरीमा फर्काए । त्यसको दुई मिनेटपछि बेटिसका विलियम कालाभारोले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

दोस्रो हाफको तेस्रो मिनेटमा रियल म्याड्रिडले आत्मघाती गोल पाएपछि खेल २-२ को बराबरीमा फर्किएको थियो । बेटिसका सोउजा जुनियरले ४८ मिनेटमा आफ्नै पोस्टमा गोल गरेका थिए ।

त्यसपछि खेलको ८२ औँ मिनेटमा कप्तान सर्जियो रामोशले गोल गर्दै रियल म्याड्रिडलाई जीत दिलाए । कप्तान सर्जियो रामोशले सो गोल पेनाल्टीमा गरेका हुन् । बेटिसका मार्क बर्ट्राकोले ह्यान्ड बल गरेपछि रियलले भीएआरको मद्दतले पेनाल्टी पाएको थियो ।

यो सिजनमा रियलको यो पहिलो जित हो। यसअघि पहिलो खेलमा रियललाई रियल भलडोलिडले बराबरीमा रोकेको थियो।