• गृहपृष्ठ
  • वार्ता र संवादमार्फत त्रिविका समस्या समाधान गर्न नेविसङ्घको माग

वार्ता र संवादमार्फत त्रिविका समस्या समाधान गर्न नेविसङ्घको माग

Sep 21st, 2020

काठमाडौँ, ५ असोज /रासस

नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले वार्ता र सम्वादमार्फत त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ती जारी गरी विश्वविद्यालयभित्र देखिएको समस्या वार्ता र सम्वादमार्फत समाधान गर्नुपर्ने बताउनुभएको हो । “शैक्षिक सुधारका लागि त्रिविसँग कुनै योजना छैन, शैक्षिक सुधारका लागि विद्यार्थीले आन्दोलन गर्न खोजे झुठा मुद्धा लगाएर प्रहरी दमन गरिन्छ”, उहाँले भन्नुभयो । अध्यक्ष ढुङ्गानाले विश्वविद्यालयभित्र दैनिक प्रहरीको प्रवेश आपत्तीजनक भएको बताउनुभयो । सरकारले शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप बन्द गर्नुपर्ने उहाँको भनाइ छ ।

नेविसङ्घका महामन्त्री दिपक भट्टराईले त्रिविमा प्रहरी उपस्थित गराएर विद्यार्थी र प्राध्यापकलाई आतङ्कित पार्ने काम भएको भन्दै त्यसलाई तत्काल रोक्नुपर्ने बताउनुभयो । विश्वविद्यालयले विद्यार्थीले राखेको जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्ने उहाँको भनाइ थियो । महामन्त्री भट्टराईले नेविसङ्घले विगतमा त्रिविका बेथिति अन्त्य गर्न आवाज उठाउँदै ज्ञापन पत्र दिएपनि ज्ञापनपत्रको सुनुवाइ नभएको बताउनुभयो ।