• गृहपृष्ठ
  • विज्ञान प्रविधिमा विकास एजेन्सीको भूमिकाको बारेमा डिजिटल संवाद आयोजना

विज्ञान प्रविधिमा विकास एजेन्सीको भूमिकाको बारेमा डिजिटल संवाद आयोजना

Sep 21st, 2020

काठमाडौ, असोज ५

विज्ञान र प्रविधिको महत्व अझ बढिरहेको सन्दर्भमा सरकारले गत असोज १ राष्ट्रिय विज्ञान दिवस मनाएको छ । सोही सन्दर्भमा शनिवार डिजिटल संवादको १८ औं श्रृंखला विज्ञान दिवस सम्बन्धित रहेर आयोजना भएको छ । उक्त संस्करणमा विज्ञान प्रविधिमा विकास एजेन्सीको भूमिकाको बारेमा डिजिटल संवाद भएको थियो । कार्यक्रममा केही महत्वपूर्ण विकास एजेन्सीहरूको प्रतिनिधित्व रहेको थियो ।

कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले यस वर्ष नेपालमा ग्लोबल इन्नोभेसन इन्डेक्समा १४ स्थान माथि उक्लेर ९५ स्थानमा आएको जानकारी गराउँदै अझ सरकारले यसतर्फ लगानी र उपयुक्त पोलिसी बनाउनुपर्ने बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्माले अब आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्सको अधिकतम प्रयोग गरेर औद्योगिक विकास गर्नुपर्ने बताए । उनले सरकारले बनाएका विभिन्न नीति समयमा कार्यान्वयन नहुनु र चेतनाको अभावले गर्दा पनि समस्या खडा भएको बताए । सचिव शर्माले विज्ञान तथा प्रविधिको विकासका लागि विद्यालयदेखिको प्राविधिक तथा वैज्ञानिक शिक्षा जरुरी रहेको औंल्याएका थिए ।

त्यसैगरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का प्रमुख कार्यकारी अधिकृत प्रदीप ज्ञवालीले एनएचआरसीले संक्रामक रोगको नियन्त्रण र प्रविधिको विकासमा विशेष ध्यान दिइरहेको बताए । उनले नैतिक समीक्षा बोर्ड बनाएर विज्ञानको विकासबारे नयाँ प्रस्ताव आएमा वैज्ञानिक ढंगबाट विश्लेषण गर्ने बताएका थिए । एनएचआरसीले अहिले कोभिडको समयमा आयुर्वेदिक औषधिको क्लिनिकल परीक्षण पनि गरिरहेको ज्ञवालीले जानकारी दिए ।

यसैगरी नाष्टका प्रविधि प्रमुख डा. रवीन्द्र ढकालले पछिल्लो समय नाष्ट र अन्य संस्थाहरूको पनि सहकार्यमा इन्नोभेसनको विकास र प्रवद्र्धनात्मक कार्यक्रमहरू भइरहेको बताए । ग्लोबल इन्डेक्समा के कारणले हामी माथि उक्लियौं र कहाँ कमजोर छ भन्ने हेरेर आगामी दिनमा अझ सुधार गर्न लाग्नुपर्ने ढकालको भनाइ थियो ।

युएनडीपी नेपालका हेड अफ एक्सपेरिमेन्टेसन विशम ज्ञवालीका अनुसार युएनडीपीले ७० भन्दा बढी देशहरूमा सामाजिक आविष्कारको प्रयोगले बेरोजगारी हटाउने काम भइरहेको छ । कोभिड नियन्त्रणको लागि पनि सिस्टर रोबोट बनाउन र अन्य प्राविधिक सहयोगमा पनि काम गरिरहेको ज्ञवालीले बताए । आगामी दिनमा डिसिजन मेकिङ र अन्य कामहरूमा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राख्दै अघि बढ्ने ज्ञवालीले बताए । द एसिया फाउण्डेसनका प्रनय स्थापितले कसरी र कुन लेवलबाट प्रविधिको प्रयोग गर्न सकिन्छ भनेर जानकारी गराएका थिए । एसिया फाउण्डेसनले कसरी प्रविधि र इन्नोभसनलाई प्रयोग गरिरहेको छ भन्नेबारे उनले प्रस्तुतीकरण गरेका थिए ।

मर्सीक्रप्सको दिनेश तामाङका अनुसार रिसर्च र राम्रो जानकारीले गर्दा मात्रै विज्ञान प्रविधिमा विकास गर्न सकिन्छ । प्रविधिमा सरल तर सामान्य मानिसका समस्या समाधान गर्नेगरी टुल्सहरू बनाएर प्रयोग गर्न सके उपयोगी हुने उनले बताए । यसरी इसिमोडका वीरेन्द्र वज्राचार्यले वातावरण, विपत्को क्षेत्रमा पछिल्लो समय विज्ञान प्रविधिको प्रयोग बढिरहेको बताए ।

सय जनाभन्दा बढीको सहभागितामा भएको कार्यक्रममा अन्य विषय विज्ञहरूले आफ्नो विचार प्रस्तुत गरेका थिए । विज्ञान दिवसको उपलक्ष्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल इन्नोभेटर टिमको सहकार्यमा १८औं संस्करणको डिजिटल संवाद आयोजना भएको थियो । रोबोटिक्स एसोसिएसनका विकास गुरुङले सञ्चालन गरेको कार्यक्रममा आकृति न्यौपानेले वक्ताहरूको भनाइलाई सारांशमा प्रस्तुत गरेकी थिइन् । यो कार्यक्रम महिनाको पहिलो र अन्तिम शनिवार पाक्षिक रूपमा सञ्चालन हुँदै आइरहेको छ ।