• गृहपृष्ठ
  • कारोबार प्रणालीमा रहेको समस्या अझै पत्ता लगाउन सकेन नेप्सेले , १९ करोड खर्चेर बनाएको सफ्टवेयरमा आशंका

कारोबार प्रणालीमा रहेको समस्या अझै पत्ता लगाउन सकेन नेप्सेले , १९ करोड खर्चेर बनाएको सफ्टवेयरमा आशंका

Sep 18th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, असोज २

दुई वर्षअघि १९ करोड खर्चेर बनाइएको नेपाल स्टक एक्सचेञ्ज नेप्सेको अनलाइन कारोबार प्रणालीमा पछिल्लो पटक समस्या नै समस्या देखिरहेको छ। १५ दिनमा तीनपटक समस्या देखिएको छ । जुन के कारणले भएको थियो अझै नेप्सेले पत्ता लगाउन सकेको छैन ।

१४, २५ र २८ गते ब्रोकर तथा अनलाइन कारोबारीले सेयर खरिद बिक्रिका लागि गरेको अर्डर नेप्सेको प्रणालीमै देखिएन । जसका कारण ती तीनै दिन कारोबार ३/३ घण्टा रोकियो ।

अनलाइन प्रणालीमा बारम्बार कारोबार नै रोक्नुपर्ने गरी समस्या दोहोरिनुको कारण नेप्सेले पत्ता लगाउन सकेको छैन ।

नेप्सेले यो अनलाइन प्रणाली १९ करोड रुपैयाँ खर्चेर बनाएको हो । सफ्टवेयर ९ करोड र हार्डवेयरमा १० करोड लगानी गरिएको थियो ।

हुनत यसअघि २०७५ पुसमै तामाकोशी जलविद्युत आयोजनाको सेयर मूल्य एकैदिन ५० प्रतिशतले बढेको थियो । जबकि मूल्य १० प्रतिशतभन्दा बढी घटबढ हुन नपाउने नियम छ । तर यो वर्ष भदौमा नै अनलाइन प्रणालीमा तीन पटक समस्या देखियो ।

सफ्टवेयर अन्तर्गत नेप्सेले प्रयोग गर्ने अनलाइन कारोबार प्रणाली (नट्स्) र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) छन् । बारम्बार समस्या दोहोरिनु र यसको कारण पत्ता लगाउन नसक्नुले नेप्सेको प्रणालीको स्तरमाथि नै प्रश्न उठाउन थालिएको छ ।

अहिले अनलाइनबाट सेयर किनबेच गर्ने कारोबारी बढेका छन् । त्यस्ता कारोबारीको संख्या करिब ९० हजार पुगेको छ । तर नेप्से र सफ्टवेयर निर्माता वाइको कम्पनी ब्रोकरले प्रयोग गर्ने टीएमएसमा समस्या देखाएर पन्छिन खोजिरहेका छन् । जसका कारण ब्रोकर कम्पनी आफैं नयाँ कारोबार व्यवस्थापन प्रणाली बनाउनतिर लागेका छन् ।

उश्र प्रविधिमा समस्या आउन सक्छ । तर त्यसको समाधानको उपाय पनि हुन्छ । त्यो उपाय पत्ता लगाएर समस्याको दीर्घकालीन समाधानमा गर्नुपर्छ ।

अनलाइनमार्फत् कारोबार गर्नेको संख्या दिनहुँ बढेर ९० हजार हाराहारी पुगिसकेको छ । तर, कारोबार प्रणालीले भने यि लगानीकर्तालाई धान्न सकिरहेको छैन ।