• गृहपृष्ठ
  • म्युच्युअल फन्डमा ९४ प्रतिशत संस्थागत लगानीकर्ता , व्यक्तिगत न्युन, व्यक्तिगत लगानीकर्ताको छैन आकर्षण

म्युच्युअल फन्डमा ९४ प्रतिशत संस्थागत लगानीकर्ता , व्यक्तिगत न्युन, व्यक्तिगत लगानीकर्ताको छैन आकर्षण

Sep 15th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, भदौं ३०

सेयर बजारबाट कमाउन चाहने तर जोखिम मोल्न नचाहने लगानीकर्ताका लागि ल्याइएका सामूहिक लगानी कोष अर्थात म्युचल फन्डमा संस्थागत लगानीकर्ताकै दबदबा देखिएको छ । १५ मध्ये १३ वटा फन्डमा ५० प्रतिशतभन्दा बढी लगानी संस्थागत लगानीकर्ताको छ ।

सेयर बजारबाट प्रतिफल लिन चाहने तर जोखिम बहन गर्न नचाहने र कम्पनीको वित्तीय अवस्था विश्लेषण गर्न नसक्ने लगानीकर्तालाई लक्षित गरी म्युचल फन्ड सञ्चालनमा ल्याइएको हो ।

अहिले त्यस्ता १५ वटा फन्ड सञ्चालनमा छन् । तर ती फन्डमा सर्वसाधारणको लगानी निकै न्युन छ । म्युचल फन्डमा संस्थागत लगानीकर्ताकै बर्चस्व छ । एउटा उदाहरण हेरौं, सनराइज म्युचल फन्डमा व्यक्तिगत लगानीकर्ताो हिस्सा ६ प्रतिशत मात्र छ । बाँकि ९४ प्रतिशत लगानी संस्थागत लगानीकर्ताको हो । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथमा पनि करिब ९४ प्रतिशत सेयर संस्थागत लगानीकर्तासँग छ ।

एनएमबी ५०, सिटिजन्स म्युचल फन्ड दुई र ग्लोबल आईएमई समुन्नत योजनामा पनि व्यक्तिगत लगानीकर्तासँग २० प्रतिशत सेयर छैन । धेरै म्युचल फन्ड सेयर बजार घटेका बेला आएको र सर्वसाधारण लगानीकर्ताले रुचि नदेखाएकाले संस्थागत लगानीकर्ता हावी भएको सञ्चालकहरुको भनाइ छ ।

त्यसो त ५ देखि १० वर्षमा परिपक्व हुने गरी सञ्चालनमा ल्याइएका केहि म्युचल फन्डले तीन वर्षसम्म लाभांस नै दिएका छैनन् ।

कतिपय फन्डको प्रति इकाइ खुद सम्पत्ति १० रुपैयाँभन्दा माथि हुँदा पनि लगानीकर्ताले दोस्रो बजारमा १० रुपैयाँभन्दा कम अर्थात घाटा सहेर बेचिरहेका छन् । फन्ड व्यवस्थापन गरेबापत लिने शुल्क उच्च हुनु पनि सर्वसाधारण लगानीकर्ताको आकर्षण नहुनुको कारण हो ।

फन्ड व्यवस्थापकको कमजोरीका कारण कतिपय फन्डले आम्दानी बढाउनै सकेका छैनन् । यस्तो अवस्थामा पनि व्यवस्थापकले आकर्षक सुविधा लिन भने छाडेका छैनन् ।जसका कारण पनि लगानीकर्ताहरुको यसमा आकर्षण हुन नसकेको हो ।

म्युच्युल फन्डमा लगानी बढाउन सेवा शुल्कमा कमी ल्याउनु जरुरी छ । साथै फन्ड म्यानेजरहरुले लगानीको नयाँ उपाय अपनाएर भएपनि लगानीकर्तालाइ लाभ दिन सक्नुपर्छ ।