सन्दीप आबद्ध जमैकाको खेल आज राति

Sep 5th, 2020

काठमाडौँ, २० भदौ /रासस

क्यारेबियन प्रिमियर लिग (सिपीएल)अन्तर्गत सन्दीप लामिछाने आबद्ध जमैका तालवाजले आफ्नो नवौँ खेल आज राति खेल्दै छ । ट्रिनिडाडस्थित ब्रायन लारा रंगशालामा जमैकाले नवौँ खेल बार्बाडोस ट्रिनिडाडविरुद्ध खेल्नेछ । उक्त खेल राति १२ बजे शुरु हुने छ । बार्बाडोसको भने यो १०औँ खेल हो । बार्बाडोससितको खेल जित्नका लागि जमैकाले ब्याटिङमा सुधार गर्नुपर्ने छ । जमैकाको ब्याटिङ लाइन कमजोर रहँदै आएको छ । जमैका बलिङमाथि निर्भर रहँदै आएको छ ।

जमैकाले आठौँ खेल वर्षाका कारण खेल्न पाएको थिएन । जमैका तीन खेलमा जित हात पार्दै अंक तालिकाको चौथो स्थानमा छ । दुई खेल अगावै जमैका सेमिफाइनल प्रवेश गरिसकेको छ । बार्बाडोस पाँचौँ स्थानमा रहेको छ । बार्बाडोस सिपीएलबाट बाहिरिएको छ ।

सन्दीपका लागि आजको खेल महत्वपूर्ण छ । उहाँले सिपीएलमा हालसम्म सात खेलमा १० विकेट लिइसक्नुभएको छ । सेन्ट किटस् विरुद्धको आठौँ खेल वर्षाका कारण रद्द हुँदा सन्दीपलाई घाटा भएको छ । प्रतियोगितामा उहाँ सर्वाधिक विकेट लिने खेलाडीको छैटौँ स्थानमा रहनुभएको छ ।

सबैभन्दा बढी विकेट लिनेमा गुएना अमेजनका इमरान ताहिर रहनु भएको छ । उहाँले १० खेलमा १५ विकेट लिनुभएको छ । यस्तै सर्वाधिक विकेट लिनेको सूचीमा जमैकाका मुजिब उर रहमान रहनुभएको छ । उहाँले आठ खेलमा १३ विकेट लिनुभएको छ ।

प्रतियोगितामा ट्रीनबेगो नाइट राइडर्स ८ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ । उसले अब सेमिफाइनलमा प्रतियोगिताको चौथो स्थानमा रहने टोलीसित खेल्ने छ । गुयना एमेजन वारियर्स लिग चरणका १० वटै खेल खेलेर १२ अंकका साथ दोस्रो स्थानमा छ । आठ खेल खेलेको सेन्ट लुसिया जुक्स १० अंकसहित प्रतियोगिताको तेस्रो स्थानमा छ ।