• गृहपृष्ठ
  • पूर्व मन्त्री बस्नेतले अभिभावक गुमाएकालाई निःशुल्क शिक्षाको व्यवस्था गरिदिने

पूर्व मन्त्री बस्नेतले अभिभावक गुमाएकालाई निःशुल्क शिक्षाको व्यवस्था गरिदिने

Aug 26th, 2020

काठमाडौँ, १० भदौ /रासस

नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा बाढी र पहिरोबाट अभिभावक गुमाएका आठ जना बालबालिकालाई १२ कक्षा सम्मको पठन पाठनको व्यवस्था गर्ने जिम्मा आफूले लिने घोषणा गर्नुभएको छ । जिल्लामा पहिरोबाट अभिभावक गुमाएर टुहुरो भएका स्मारिका दोङ्ग, सविता दोङ्ग, दुर्गा दोङ्ग, कविता दोङ्ग, अनिता दोङ्ग, कान्छी दोङ्ग, छिरिङ गोले र नाम नखुलेको साङबहादुर दोङ्गकी छोरीको पठनपाठनको व्यवस्था गर्ने उहाँले आज जानकारी दिनुभयो ।

सबै बालबालिकालाई यसै शैक्षिक शत्रबाट काठमाडौं उपत्यकाभित्र रहेका स्कुलको होस्टेलमा राखेर पढाउने व्यवस्था गरिने भएकोले यथाशीघ्र सम्पर्कमा आउन वा ल्याउन सम्बन्धित व्यक्ति वा उनीहरुका आफन्तलाई पूर्व मन्त्री बस्नेतले आग्रह गर्नुभएको छ । अविरल वर्षाका कारण यस वर्ष पनि मुलुकभर ठूलो जनधनको क्षति भएको छ । यस वर्ष सिल्धुपाल्चोकमा गत असार २५ गते देखि साउन ३० गते सम्म ८० जना बेपत्ता भएका छन्, ४८ भन्दा बढीको शव फेला परेको छ । सयौं परिवार घरबार बिहिन भएका छन् भने कतिपय बालबालिकाहरु परिवार गुमाई टुहुरासमेत भएका छन् ।

गत साउन ३० गते जुगल गाँउपालिका–२ स्थित लिदी गाँउमा आएको पहिरोमा ३९ व्यक्ति बेपत्ता भएकोमा हालसम्म ३२ जनाको शव प्राप्त भएको छ । सो पहिरोबाट स्मारिका, सविता, दुर्गा, कविता, अनिता, कान्छी, नाम नखुलेको साङबहादुर दोङ्गकी छोरी गरी सात जनाले अभिभावक गुमाएका थिए । त्यस्तै गत असार २५ गते जम्बुको बाढी पहिरोमा छिरिङ गोले आफ्नो पाँच जनाको परिवार गुमाएर एक्लै बाँचेका थिए ।