• गृहपृष्ठ
  • स्वास्थ्य मन्त्रालयले सुरु गर्यो कोभिड डाटा पोर्टल ,के के छन् नयाँ बिशेषता ?

स्वास्थ्य मन्त्रालयले सुरु गर्यो कोभिड डाटा पोर्टल ,के के छन् नयाँ बिशेषता ?

Aug 26th, 2020

काठमाडौ, भदौ १०

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ लक्षित डाटा पोर्टल संचालनमा ल्याएको छ । कोभिड १९ को संक्रमणको आधिकारिक विवरण प्रदान गर्न संचालनमा रहेको पोर्टलमा तथ्यांकहरुलाई सर्वसाधारणको पहूचमा सजिलै लैजान सकियोस भन्ने उदेश्यले यो पोर्टल मन्त्रालयले संचालनमा ल्याएको हो । पहिलो चरणको बन्दाबन्दिसंगै सुरु भएको कोभिड-१९ पोर्टल अहिले थप विवरण तथा तथ्यांकसहित अद्यावधिक गरिएको छ ।

अहिले मन्त्रालयले कोभिड १९ सूचना तथा गतिबिधिको सम्प्रेषण गर्न भाइबर ग्रुप, फेसबुक, त्ट्वीटर, कोभिड १९ प्रेस ब्रिफिङ, मोबाइल एप्स “हाम्रो स्वास्थ्य”, कोभिड १९ पोर्टल लगायतका डिजिटल माध्याम संचालन गर्दै आएको छ ।

मन्त्रालयले जारी गरेको मोबाइल एप्स हाम्रो स्वास्थ्य एन्ड्रोइड र आइओएस गरि दुई लाखपटक भन्दा धेरैपटक डाउनलोड भईसकेको छ । कोभिड सूचना प्रदान गर्ने भाइबर ग्रुप एमओएचपी नेपाल कोभिड १९ मा साढे चार लाखभन्दा बढी प्रयोगकर्ता सक्रिय छन्, आधिकारिक फेसबुक पेजमा साढे छ लाख फलोअर रहेका छन् । मन्त्रालयले आफ्नो डिजिटल उपस्थिति संक्रमणको जोखिम बढेसंगै थप सक्रिय गर्दै लगेको छ ।

के के छन् नयाँ बिशेषता ?

नयाँ डाटा पोर्टलमा पुरानो पोर्टल मा रहेका कोभिड-१९ बारे जानकारी, स्व(मुल्यांकन, आइईसी सामग्री, धेरै सोधिने प्रश्न, सूचना तथा समाचार र सिचुएसन रिपोर्ट यथावत रहेका छन् । यसका अलावा यस डाटा पोर्टलले प्रयोगकर्ता अनुकुल संक्रमणको विभिन्न तथ्यांकहरुलाई नक्शामा हेर्न सक्नेछन् । संक्रमणको प्रादेशिक विवरण, जिल्लागत महिला पुरुषको विवरण, उमेर समूहअनुरुपको बिस्तृत विवरण, लिङ्गका आधारमा संक्रमण हेर्न सकिने छ । प्रयोगकर्ताले हालसम्मका संक्रमण विवरण नक्शामा छनोट गरि हेर्न सक्ने छन् । नयाँ पोर्टलमा प्रयोगकर्ताले पछिल्लो २४ घण्टामा भएका संक्रमणको अवस्था हेर्न सक्ने छन् साथै एक प्रदेशको संक्रमण अर्को प्रदेश संग तुलना गर्न पनि सक्नेछन । प्रयोगकर्ताले आफुले चाहे बमोजिम पछिल्ला हप्ता, महिना वा आफ्नो रोजाई अनुरुप मिति छनोट गरि संक्रमणको अवस्था हेर्न सक्नेछन् ।

नयाँ पोर्टलमा संक्रमणको अवस्था पुरा नेपाल, प्रदेश, जिल्लाको आधारमा नक्शामा र संगै रहेको टेबुलमा हेर्न सकिने छ । प्रदेशहरुको संक्रमणको अवस्था र एक अर्काको तुलना रेखाचित्रमा देखाईएको छ, यसमा नेपालको सम्पूर्ण संक्रमणको अवस्थापनि बार चार्टमा देखाईएको छ । लिङ्गको आधारमा संक्रमणको अवस्था पाई चार्टमा देख्न सकिन्छ। प्रादेशिक संक्रमणको अवस्था बार चार्टमा छ । देशका ७७ वटै जिल्लाको विवरण बार चार्टमा उपलब्ध छ । उमेर समूह अनुसारको संक्रमणको अवस्था । कुनै निश्चित दिनको संक्रमणको अवस्था यसमा उपलब्ध छ । पोर्टलको अन्त्यमा संक्रमित, डिस्चार्ज र मृत्यूको तुलना भएको पाईचार्ट उपलब्ध छ ।

यो संगै पोर्टलमा मन्त्रालयको आधिकारिक फेसबुक र ट्वीटर र अत्यावस्यक सेवा वा जानकारी लिनपरे हटलाइन नम्बर पनि राखिएको छ ।

“हाम्रो स्वास्थ्य” मोबाइल एप

केहि समय अघि मन्त्रालयले आफ्नो आधिकारिक मोबाइल एप्स हाम्रो स्वास्थ्य एन्ड्रोइड र आइओएसका प्रयोगकर्ताहरुको लागि अपडेट सार्वजनिक गरेको थियो । मोबाइल एप्समा प्रयोगकर्ताले दैनिक आफ्नो स्वास्थ्यको स्व(मुल्यांकन भर्न सक्नेछन् । भरिएका स्व(मुल्यांकन विवरणका आधारमा मन्त्रालय मातहतका विज्ञ स्वास्थ्यकर्मीले सम्भावित संक्रमणको लक्षण भएका प्रयोगकर्तालाई फोनमार्फत् थप सल्लाह सुझाव तथा आवस्यक परे नजिकैको स्वास्थ्य संस्थासम्म जान प्रवन्ध समेत गर्नेछन् ।

नयाँ अपडेटमा मन्त्रालयले कन्ट्रयाक्ट ट्रेसिंगमा सहयोग होस् भन्ने हेतुले ब्लुटुथ ट्रेसिंग सार्वजनिक गरेको थियो । ब्लुटुथ ट्रेसिंग प्रयोगकर्ताको गोपनियता मैत्री कोभिड(१९ बिरुद्धको सुरक्षात्मक अवधारणा हो। हाम्रो स्वास्थ्य मोबाइल एपमा हामीले प्रयोगकर्तामा कोभिड(१९ को संक्रमणको जोखिम कम गर्न ब्लुटुथ ट्रेसिंगको सुरुवात गरेका छौं । मोबाइल एप खोलेपछि प्रयोगकर्तालाई मोबाइलको ब्लुटुथ ट्रेसिंग खुल्ला गर्न एपले अनुरोध गर्दछ, प्रयोगकर्ताले अनुमति दिएमा मोबाइल एपले ब्लुटुथ ट्रेसिंग सुरु गर्दछ. यो एपले १० मिटर भित्रको दुरीमा रहेका ब्लुटुथ उपकरणहरुको हार्डवेयर परिचय नम्बर (म्याक आइडी) संकलन गर्दछ, संकलित म्याक आइडी ति उपकरणहरुको ब्लुटुथको मात्र हो यसले मोबाइल नम्बर वा मोबाइल उपकरणको आइडी संकलन गर्दैन, प्रयोगकर्ता कहाँ बाट कहाँ गयो, कसलाई भेट्यो, कति समय सो व्यक्तिको नजिक रह्यो जस्ता विवरण संकलन हुदैनन् । यसले प्रयोगकर्ता कतिवटा ब्लुटुथको उपकरणको नजिक कतिसमय रह्यो मात्र संकलित हुन्छ जसले उक्त उपकरणको परिचय आइडीको आधारमा को हो भन्ने खुल्दैन । यसो हुनाले ब्लुटुथ ट्रेसिंग जीपीएस वा मोबाइल फोनको सिग्नल ट्रयाकिंगको तुलनामा प्रयोगकर्ताको गोपनियतामैत्री छ ।

यसरी संकलित म्याक आइडी ‘हाम्रो स्वास्थ्य’ प्रयोगकर्ताको उपकरणमा मात्र संकलित हुन्छ र १४ दिनपछि स्वःत मेटिएर जान्छ। यदि कुनै व्यक्तिलाई संक्रमण भएमा र उसले हाम्रो स्वास्थ्यमार्फत् ब्लुटुथ ट्रेसिंग प्रयोग गरेको भए वा एप प्रयोग नगरेको भए पनि ब्लुटुथ खुल्ला गरेको रहेछ र सो आइडी अन्य हाम्रो स्वास्थ्य प्रयोगकर्ताको ब्लुटुथ सम्पर्कमा आएको रहेछ भने स्वास्थ्य मन्त्रालयका प्राविधिकहरुले हाम्रो स्वास्थ्यको ड्यासबोर्ड मा गएर संक्रमितको ब्लुटुथ आइडी सर्भरमा सूचीकरण गर्न सक्ने छन् । ब्लुटुथको ट्रेसिंग बन्द गरेका उपकरणहरुमापनि समय समयमा अपडेट चेक आइरहन्छ, यसले सर्भरमा कुनै संक्रमित नयाँ ब्लुटुथको डिभाइस आइडी अद्यावधिक छ वा छैन भनेर चेक गर्छ। यदि सर्भरमा रहेको कुनै डिभाइस आइडी प्रयोगकर्ताको मोबाइल उपकरणमा संकलित डिभाइस आइडीसंग मेल खाएमा सर्वप्रथम त्यो डिभाइस आइडी आफ्नो हो कि हैन भनेर पहिचान गर्दछ र त्यसपछि आफ्नो उपकरणमा संकलित डिभाइस आइडीहरुसंग दाजिन्छ । त्यसपछि मोबाइल एपले सर्भरमा आफ्नो लगमा रहेका सम्पूर्ण आइडीहरुलाई पठाउँछ। यतिबेला मात्र प्रयोगकर्ताको मुख्य मोबाइलको परिचय नम्बर र फोन नम्बर सर्भरमा जान्छ ।

यसरी सर्भरमा सम्भावित संक्रमित वा उच्च जोखिममा रहेका डिभाइस आइडीहरुको एउटा टेबल बनेर रहन्छ जसबाट थप कन्ट्रयाक्ट ट्रेसिंग गर्न सहयोग पुग्छ । टेबलमा प्रयोगकर्ताको ब्लुटुथ आइडी, समय, मिति र संक्रमित र आफ्नो अनुमानित दूरीको रेकर्ड रहेको हुन्छ । हाम्रो स्वास्थ्य मोबाइल एपमा रहेको ब्लुटुथ ट्रेसिंग, आफुलाई संक्रमण भएको अवस्था वा संक्रमणको आशंका भएमा स्वास्थ्य संस्थाको सम्पर्कमा पुग्ने सबैभन्दा छरितो माध्यम हो ।