• गृहपृष्ठ
  • लुकाकुको आत्मघाती गोलको मद्दतमा सेभियाले छैटौं पटक जित्यो युरोपा लिगको उपाधि

लुकाकुको आत्मघाती गोलको मद्दतमा सेभियाले छैटौं पटक जित्यो युरोपा लिगको उपाधि

Aug 22nd, 2020

आधारभूमि संवाददाता

काठमाडौं, ६ भदौ

सेभियाले छैटौं पटक युरोपा लिग फुटबलको उपाधि जितेको छ ।शुक्रबार राति लिग अन्तरगत जर्मनीमा भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोलले पराजित गर्दै सेभियाले छैटौं पटक युरोपा लिग फुटबलको उपाधि जितेको हो।

सेभियाको जितमा लुक डे जोङले दुई गोल गरे भने सेभियाले एक गोल आत्मघाती पाएको थियो ।इन्टरका रोमेरो लुकाकु र डिएगो गोडीनले एक एक गोल फर्काए ।

पहिलो हाफ २-२ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा इन्टरका रोमेलु लुकाकुले आत्मघाती गोल गरेपछि सेभियाले युरोपा लिग फुटबलको उपाधि जितेको हो।

खेलमा पहिलो अग्रता इन्टरलेनै लिएको थियो । खेलको पाँचौं मिनेटमा लुकाकुले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए। लुकाकुले सो गोल पेनाल्टीमा गरेका हुन् । सेभियाका डिफेन्डर कार्लोसले फल गरेपछि इन्टरले पेनाल्टी पाएको थियो । जसमा लुकाकुले सहजै गोल गरे । त्यसपछि सेभियाका लुक डे जोङ ले १२ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।जोङ ले सो गोल जिसस नाभासको क्रसमा हेडमार्फत गरेका हुन् ।

३३ औं मिनेटमा जोङ ले व्यक्तिगत दोस्रो गोल गरेपछि सेभिया २-१ ले अगाडि रहेको थियो । त्यसको २ मिनेटपछि इन्टरका डिएगो गोडिनले गोलगरे पछि पहिलो हाफको खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ७४ औ मिनेटमा रोमेलु लुकाकुले आत्मघाती गोल गरेपछि सेभिया च्याम्पियन बन्न सफल भयो। सेभियाका डिफेन्डर डिएगो कार्लोसको प्रहारलाई रोक्ने क्रममा रोमेलु लुकाकुले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।

जितसंगै सेभियाले छैटौं पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ । सेभिया ६ पटक युरोपा लिग जित्ने एक्लो टिम हो । सेभियाले २००६ यता युरोपा लिगको छैटौं पटक उपाधि जितेको हो।