इन्टर मिलान युरोपा लिगको फाइनलमा

Aug 18th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, २ भदौ

इन्टर मिलान युरोपा लिगको फाइनलमा पुगेको छ। सोमबार राति भएको दोस्रो सेमिफाइनल खेलमा युक्रेनी क्लब शख्तर डोनेस्कलाई ५–० गोल अन्तरले पराजित गर्दै इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश गरेको हो।

इन्टर मिलानलाई जित दिलाउन लौटारो मार्टिनेज र रोमेलु लुकाकुले दुई दुई गोल गरे ।ड्यानिलो डी आम्ब्रोसियोले एक गोल गरे ।

खेलको १९ औँ मिनेटमा मिलानका लौटारो मार्टिनेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।मार्टिनेजले सो गोल हेडमार्फत गरेका हुन् ।

दोस्रो हाफको ६४ औ मिनेटमा ड्यानिलो डी आम्ब्रोसियोले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए । त्यसको १० मिनेटपछि लौटारो मार्टिनेजले ब्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३–० को अग्रता दिलाए ।

त्यसपछि लुकाकुले ५ मिनेटको अन्तरमा दुई गोल थपे । लुकाकुले ७८ मिनेटमा टोलीका लागि चौथो गोल र ८३ मिनेटमा पाँचौ गोल गरेका थिए ।

इन्टरले अब उपाधिका लागि स्पेनिस क्लब सेभियासँग शुक्रबार राति प्रतिस्पर्धा गर्नेछ।