• गृहपृष्ठ
  • म्यान्चेष्टर सिटीलाई पराजित गर्दै लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा

म्यान्चेष्टर सिटीलाई पराजित गर्दै लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा

Aug 16th, 2020

काठमाडौँ, ३२ साउन

म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । फ्रेन्च क्लब लियोनले इंग्लिस क्लब म्यानचेष्टर सिटीलाई पराजित गर्दै युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

शनिबार राति क्वार्टरफाईनलको खेलमा लियोनले सिटीलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

लियोनलाई जित दिलाउन म्याक्सवेल कोर्नेटले एक र माउसा डेम्बेले ले दुई गोल गरे । म्यान्चेष्टर सिटीको लागि केभिन डी ब्रुईनले एक गोल गरे ।

खेलमा पहिलो अग्रता लियोनलेनै लिएको थियो । खेलको २४ औँ मिनेटमा लियोनका म्याक्सवेल कोर्नेटले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६९ औ मिनेटमा सिटीका केभिन डी ब्रुईनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ब्रुईनीले रहिम स्टर्लिङको पासमा सो गोल गरेका हुन् ।

त्यसपछि ७९ औ मिनेटमा माउसा डेम्बेले गोल गर्दै लियोनलाई २-१ को अग्रता दिलाए । त्यसको ८ मिनेट पछि माउसाले व्यक्तिगत दोस्रो गोल गर्दै ३ -१ को अग्रता दिलाए । त्यसपछि कुनै गोल हुन सकेन र लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनल पुग्ने लियोन दोस्रो टिम हो ।अब लियोनले सेमिफाईनलमा बायर्न म्युनिखसंग खेल्नेछ ।