काभ्रेका ६ नगरपालिकामा उच्च सतर्कता

Aug 16th, 2020

बनेपा, ३२ साउन /रासस

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका छ वटा नगरपालिकाका बजार क्षेत्रमा भेला, जमघट र भीडभाड गर्न रोक लगाएसँगै ती नगरपालिकाले आफ्नो नगर क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् ।

जिप्रकाले शुक्रबार सूचना जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण जिल्लामा समेत बढ्दै गइरहेको सन्दर्भमा मानिसको जमघट, भेला भीडभाडबाट उक्त रोगको सङ्क्रमण फैलिन सक्ने भएकाले धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकालगायतका बजार क्षेत्रमा अत्यावश्यक बाहेकका कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल भेलाजस्ता काम नगर्न÷नगराउन सबैमा अनुरोध गरेसँगै नगपालिकाहरुले सूचना जारी गर्दै सतर्कता अपनाउन आम नगरवासीमा आग्रह गरेका हुन् ।

यसैबीच बनेपा नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै शनिबारबाट अत्यावश्यकबाहेकका अन्य सबै सेवा बन्द गर्ने जनाएको छ । पछिल्लो समयमा कोभिड–१९ सङ्क्रमणको क्रम बढ्दै गइरहेको भन्दै शनिबारबाट अर्को सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेक सबै प्रकारका पेशा व्यवसाय पूर्णरूपमा बन्द गर्न निर्देशन दिएको छ । त्यससँगै अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र निस्कँदा विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारबाट जारी भएका न्यूनतम स्वास्थ्य मापदण्डको पूर्णरूपमा परिपालन गर्नसमेत नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ ।

पनौती नगरपालिकाले पनि अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगर्न आग्रह गरेको छ । सङ्क्रमण फैलन सक्ने अवस्थालाई ध्यानमा राख्दै नगरपालिकाले अर्को सूचना नभएसम्मका लागि नगरपालिका र वडा कार्यालयबाट दैनिकरूपमा प्रवाह हुने अत्यावश्यकबाहेकका सेवा बन्द गरेको नगरप्रमुख भीम न्यौपानेले बताउनुभयो ।

मण्डनदेउपुर नगरपालिकाले पनि अत्यावश्यक सामग्रीबाहेकका अन्य सेवा सञ्चालन गर्न रोक लगाएको छ । सूचना जारी गर्दै नगरपालिकाका अधिकृत मनोज अधिकारीले अत्यावश्यक वस्तु दूध, फलफूल, तरकारी, औषधि, इन्धन, पानीजस्ता सामग्री खरिदका लागि प्रत्येक दिन दिउँसो १२ बजेदेखि २ बजेसम्मका लागि मात्र सञ्चालन गर्न आग्रह गरेको छ । त्यस्तै दूध सङ्कलन गर्ने सङ्कलकलाई किसानको पालो तोकेर प्रत्येक दिन बिहान ६ देखि ८ बजेसम्म मात्र भौतिक दूूरी कायम गरी सङ्कलन गर्न आग्रह गरेको छ ।

जिल्लाको नमोबुद्ध नगरपालिकामा शुक्रबार पहिलोपटक तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले सूचना जारी गर्दै अत्यावश्यकबाहेक कसैलाई पनि घर बाहिर ननिस्कन र निस्कनै परे स्वास्थ्य सजगता अपनाउन आग्रह गरेको छ । सङ्क्रमण पुष्टि भएका तीन जना दुबईबाट आएर नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएको र समुदायमा घुलमिल नभएका कारण आतङ्कित नहुन नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले सबैमा अनुरोध गर्नुभएको छ ।

त्यसैगरी पाँचखाल नगरपालिकाले नगर क्षेत्रमा सङ्क्रमण फैलिन सक्ने अवस्थालाई ध्यानमा राखेर नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा आजबाट आगामी भदौ ६ गतेसम्मका लागि अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द गरेको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले शुक्रबार सूचना जारी गर्दै अत्यावश्यक सेवा स्वास्थ्य, दूध, तरकारी, खाद्यान्नलगायतका वस्तु बिहान ६ देखि १० बजेसम मात्रै खुला रहने जनाएको छ । नगरभित्र रहेका वित्तीय सङ्घ÷संस्था, होटल, रेष्टुरेण्ट, सैलुन, ब्युटीपार्लर र पार्टी प्यालेसलगायतका बजार पूर्णरूपमा बन्द गरिने जनाइएको छ । त्यससँगै न्यायिक समितिका संयोजकसमेत रहनुभएका नगर उपप्रमुख लक्ष्मी दनुवारले नगरपालिकाको न्यायिक समितिको काम कारवाहीसमेत अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको बताउनुभएको छ ।