काठमाडौं उपत्यकामा थपिए ९८ संक्रमित

Aug 15th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ३१ साउन

काठमाडौंमा थप ९८ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ९८ जनाको पिसिआर पोजेटिभ आएको बताए । बिहीबार काठमाडौं उपत्यकामा एकैपटक ११९ संक्रमित थपिएका थिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ४७ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १४ हजार ४४८ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ८ हजार १९३ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा पर्सा, रौतहट, महोत्तरी, मोरंग र काठमाडौँ रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १२४  जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १७ हजार २०१  पुगेको छ । त्यस्तै कोरोनाका सङ्क्रमित शून्य रहेका जिल्लामा सङ्खुवासभा, मनाङ, मुस्ताङ , हुम्ला र डोल्पा रहेका छन् ।