• गृहपृष्ठ
  • बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Aug 9th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, २५ साउन

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति अन्तिम १६ को दोस्रो लेगको खेलमा इटालियन क्लब नापोलीलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले समग्रमा ४-१ को जित निकाल्दै क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।

यसअघि अन्तिम १६ को पहिलो लेगमा १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो लेगमा बार्सिलोनालाई जित दिलाउन कप्तान लिओनल मेसी, क्लेमेन्ट लेङलेट र लुइस सुआरेजले गोल गरे ।

खेलमा पहिलो अग्रता बार्सिलोनाले लिएको थियो ।खेलको १० औँ मिनेटमा बार्सिलोनाका क्लेमेन्ट लेङलेट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको १३ मिनेट पछि कप्तान लिओनल मेसीले गोल गर्दै २ -० को अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा सुआरेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए ।सुआरेजले सो गोल पेनाल्टीमा गरेका हुन् ।त्यसपछि पहिलो हाफको इन्जुरी समयमा नापोलीका लरेन्जो इनसिग्नेले एक गोल फर्काए ।त्यसपछि कुनै गोल हुन सकेन र बार्सिलोनाले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो ।

यो संगै बार्सिलोनाले लगातार १३औं पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।